अर्थतन्त्र उकास्न गोलमेचको तयारी गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र उकास्न गोलमेचको तयारी गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र परेको दबाब कम गर्न राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उहाँले आज दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उक्त भनाई राख्नुभएको हो । मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको पनि जानकारी दिनुभयो ।

'‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन । अर्थतन्त्र सुधार्ने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ ।’

टालटुले तरिकाले अर्थतन्त्रको दवाव नहट्ने बताउनुभएका प्रधानमन्त्रीले सबै मन्त्री, सचिव, निजी क्षेत्रका प्रतिनिधि र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत अन्तरक्रियाको तयारीमा सरकार रहेको पनि जानकारी दिनुभयो । उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउने उहाँको भनाई छ ।

‘हाम्रो बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग गरेको छैन । परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ । लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ ।'

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने पनि प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू