आगलागीमा घाइते १४ जनालाई सैनिक जहाजमा काठमाडौँ ल्याइयो

आगलागीमा घाइते १४ जनालाई सैनिक जहाजमा काठमाडौँ ल्याइयो
सुन्नुहोस्

मोरङमा हिजो भएको आगलागीबाट गम्भीर घाइते १४ जनालाई थप उपचारका लागि राजधानी ल्याइएको छ । 

आज साँझ सैनिक हेलिकोप्टरमा राखेर एक–एक जना कुरुवासहित घाइतेलाई यता ल्याइएको हो । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीस्थित दिपक कार्कीको घरमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका थिए । 

घाइते भएकामा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत सई चुडामणि प्रधान, प्रहरी चौकी अमाहिबरियातिका जवान दिलकुमार आचार्य र कर्सिया चौकीका जवान ऋदिकिरण राई छन् । प्रधानको दुबै हातको कुहिनामुनि र अनुहार जलेको छ भने आचार्यको दुबै हातको हत्केला, अनुहार र पिँडुलामा गहिरो चोट लागेको छ ।  त्यस्तै, राईको शरीरको अधिकांश भाग जलेको छ । 

आगलागीमा परेका स्थानीयमा बाबु मन्सुर, कुमार तामाङ, कैलाश गुरुङ, विशाल बस्नेत, तारा मान सेरेङ, दिपेन्द्र कार्की, दिनेश शर्मा, राजन लुइटेल, शिवकुमार विक, नेत्र भण्डारी र राम नरेश मरिता हुन् । 

गम्भीर घाइते भएका उनीहरुलाई लिन नेपाली सेनाको कल साइन एनए–०६२–कासा जहाज काठमाडौँबाट दिउँसो बिराटनगर पुगेको थियो । १४ जना घाइते र उनीहरुका एक–एक जना कुरुवा गरी ३३ जना बोकेको उक्त विमान साँझ काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

टिप्पणीहरू