महानगरका कर्मचारीको कुर्सी रित्तै, एनआइसी एसिया बैंक बन्द

महानगरका कर्मचारीको कुर्सी रित्तै, एनआइसी एसिया बैंक बन्द
सुन्नुहोस्

सरकारी क्यालेण्डर अनुसार एक साता लामो तिहार बिदापछि आज सरकारी कार्यालयहरु खुलेका छन् । तर, राजधानीमै सरकारी र बैंकका कर्मचारी कार्यालयको कुर्सीमा नबिसिदिँदा सेवाग्राही मर्कामा परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यालय, सोह्रखुट्टेमा आज मध्यान्ह साढे १२ बजेको समयमा केही सामान्य तहका कर्मचारी बाहेक अरु सबै अनुपस्थित रहेको पाइयो । वडा कार्यालयको दोस्रो तल्लामा रहेको एनआईसी एसिया बैंकको काउण्टरसमेत बन्द गरिएको छ । 

सरकारले तिहार अस्ति सकिए पनि कर्मचारीको सहजताका निम्ति हिजो एक दिन सार्वजनिक रुपमा छुट्टै तिहार बिदा दिएको थियो । आजदेखि सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज ढंगले गराउन उक्त बिदा दिइएको हो । 

तर, काठमाडौं महानगरपालिका १६ नम्बर वडामा कर्मचारी हाजिर भएपनि कुर्सीमा नबस्दा बिहानैदेखि सेवाग्राही मर्कामा परेका हुन् । वडा सचिव प्रकाश खड्काले आफू काम विशेषले बाहिर गएको बताउँदै सर्भर डाउन भएको र बैंक काउण्टर बन्द भएकाले वडाको काम प्रभावित भएको बताए ।

सेवाग्राहीहरु भने खड्काको उक्त धारणासँग सहमत छैनन् । वडाका कर्मचारीहरुले जानाजान सर्भर र बैंक काउण्टरका कर्मचारीको दोष लगाउँदै आज काम नगरेको बताए । घरजग्गा कर तिर्न र घर बाटो प्रमाणितको कागजातको निम्ति पुगेका एक जना सेवाग्राहीले भने, ‘महानगरका प्रमुख, उपप्रमुखले सिद्धान्तमा वाशिंगटन, न्युयोर्क, लण्डन, बेइजिङ, दिल्लीको हवाला दिन्छन् । तर, व्यवहारमा काठमाडौंका वडा कार्यालयमा दुर्गम भेगका जिल्लामा झैं कर्मचारीको दादागिरी चल्ने गरेको छ । आज पनि उनीहरुले सेवाग्राहीलाई भुसुना ठानेर काम नगरेका हुन् ।’

यता, एनआईसी एसिया बैंकका असिस्टेन्ट जनरल मेनेजर तथा गुनासो सुनुवाई अधिकारी अर्जुनराज खनियाले बैंक खुलेको र कर्मचारीहरुले सर्भरमा समस्या आएकाले म्यानुअल्ली काम गरेको दाबी गरे । तर, जनआस्थाका प्रतिनिधिले खनियालाई भाइबर भिडियोबाट स्थलगत रुपमा बैंक काउण्टर बन्द रहेको प्रत्यक्ष भिडियो दिउँसो १ बजे वडा कार्यालयबाटै देखाइदिएका थिए । त्यसपछि उनले भने, ‘कार्यालय बन्द रहेको भिडियो नै देखेपछि के भन्नु र खै ! कर्मचारीले ढाँटेका रहेछन् ।’

आज कुनै पनि बैंक तथा वित्तीय संस्था बन्द नरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । उनले भने, ‘केन्द्रीय बैंक र सरकारको निर्णय विपरित हुनेगरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले तोकिएको समयमा सेवाग्राहीलाई सेवा नदिएको गुनासोप्रति हामी संवेदनशील छौं । यसमा आवश्यक कदम चाल्ने छौं ।’

वडा कार्यालय बन्द रहेकोप्रति महानगरका प्रवक्ता नवीन मानन्धरले आश्चर्य व्यक्त गरे । नजिकका नातेदारको निधनमा आशौचमा रहेका मानन्धरले फोनमा भने, ‘आज शुक्रबार दिउँसो ३ बजेसम्म सबै वडाले सेवाग्राहीलाई सेवा दिनैपर्छ । यो वा त्यो बहानामा कार्यालय ठप्प पारेको खबरले दुःखी तुल्याएको छ । यसको यथार्थ जानकारी वडाका जिम्मेवार पदाधिकारी वा कर्मचारीले दिनुपर्छ ।’

टिप्पणीहरू