दुर्गा प्रसाईं र महेस बस्नेतले माइतीघरमा प्रदर्शन गर्न नपाउने

दुर्गा प्रसाईं र महेस बस्नेतले माइतीघरमा प्रदर्शन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । 

सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग र महत्वपूर्ण प्रतिष्ठानसमेत भएकाले सोमबारदेखि लागू हुनेगरी एक महिनासम्म सो क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । 

काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतले आज जारी गरेको आदेशमा पद्योदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदैं माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुदैं नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको उल्लेख छ । 

आदेशमा भनिएको छ, ‘सर्वसाधारण नागरिक, सार्वजनिक सेवा प्रदाय निकायको कामकारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एंव सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यी क्षेत्रमा मंसिर ४ गतेदेखि ३० गतेसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा एमालेको भातृ संस्था युवासंघ नेपालले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सिडिओ कार्यालयले यस्तो आदेश जारी गरेको हो ।

टिप्पणीहरू