अर्थतन्त्र उकास्न सिंहदरबारमा दिनहुँ छलफल

अर्थतन्त्र उकास्न सिंहदरबारमा दिनहुँ छलफल
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रलाई गति दिनेबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । आन्तरिक अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने विषयमा प्रधानमन्त्रीसहितको छलफल अहिले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा जारी छ । 

हिजो प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा.प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, गभर्नर महाप्रसाद अधिकारीलगायत विभिन्न मन्त्रालय र निकायका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । हिजोको छलफलमा अर्थतन्त्रमा देखिएका समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको थियो। 

आज त्यसैको निरन्तरतामा निजी क्षेत्र, अर्थविद्, अर्थक्षेत्रका सरोकारवाललाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको हो । प्रधानमन्त्रीले अर्थतन्त्रलाई थप गतिशील बनाउने सम्बन्धमा आवश्यक सुझाव लिन आज पनि बैठक बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

मुलुकको अर्थतन्त्रले लय समातिरहेको र वाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थिति राम्रो हुँदै गएपनि अझै केही समस्या रहेकाले त्यसको निराकरण गर्ने प्रयासमा प्रधानमन्त्रीले लगातार छलफल गर्नुभएको सरकारी अधिकारीहरुको भनाई छ ।

टिप्पणीहरू