मध्यराति महिला लखेटिएको घटनामा युवासंघको संलग्नता छैन : केपी ओली

मध्यराति महिला लखेटिएको घटनामा युवासंघको संलग्नता छैन : केपी ओली
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा महिलाहरूलाई लखेट्ने कार्यमा आफ्ना कार्यकर्ताको संलग्नता अस्वीकार गर्नुभएको छ । 

दुर्गा प्रसाईं नेतृत्वको समूहले भोलि काठमाडौँमा गर्न लागेको जनप्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका महिलाहरुलाई युवासंघका कार्यकर्ताले उनीहरु बसेकै पार्टी प्यालेसमा पुगेर बाहिर निकालेको विषयमा टिप्पणी गर्दै उहाँले सो प्रतिकिया जनाउनुभएको हो । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले त्यस्तो कार्य युवासंघले गर्नै नसक्ने दावी पनि गर्नुभयो । 

उक्त घटनालाई ओलीले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने दुस्प्रयासका रुपमा अर्थ्याउँदै भन्नुभयो, 'युवा संघले यसो गर्‍यो भनेर एउटा भिडियो आएको देखियो । भिडियो आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें,  युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन् ।’

प्रसाईं नेतृत्वको 'नागरिक बचाउ अभियान'ले भोलि काठमाडौँमा बृहत जनप्रदर्शन गर्दैछ । त्यसका लागि उपत्यका बाहिरबाट ठूलो संख्यामा मानिसहरु काठमाडौँ आइरहेका छन् । सोहीक्रममा आएका ति महिलाहरुलाई भक्तपुरको एक पार्टी प्यालेसमा राखिएको थियो । 

हिजो मध्यराति सुत्ने तरखर गरिरहेका महिलालाई प्रसाईंको भेलाका लागि आएको भन्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । युवाहरुको एक समूहले धम्कीपूर्ण शैलीमा महिलाहरुलाई बाहिर निस्कन भनेको भिडियोमा सुनिन्छ । 

एकजना पुरुषले भन्छन्, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर ।’ उनैले फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन?’ महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गर्दै एकरात मात्रै बस्न दिन आग्रह गरिरहेको भिडियोमा देखिन्छ ।  

कतिपयले युवासंघका नेता बिनोद राईको नेतृत्वमा यस्तो हर्कत भएको दावी गरेका छन् । तर, संघले भने घटनामा संलग्नता नरहेको बताइरहेको छ ।

केही महिनाअघिसम्म एमालेको केन्द्रीय सदस्य रहका प्रसाईं र ओलीनिकट युवा नेता महेश बस्नेतबीचको वाकयुद्धले पछिल्लो समय दुई पक्षबीच शक्ति प्रदर्शनको होडबाजी चलिरहेको छ ।

सोही सिलसिलामा राजसंस्था पुनर्स्थपना र बैंकको ऋण मिनाहा अभियान चलाइरहेका प्रसाईंले आन्दोलन घोषणा गरेका हुन् । युवासंघले पनि भोलि नै शक्ति प्रदर्शन गर्दैछ ।

टिप्पणीहरू