‘गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ’

‘गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ’

राजसंस्था पुनस्र्थापनाको एजेण्डा बोकेका शक्तिहरु सडकमा ओर्लिने तरखर गरिरहेका बेला राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उद्घोष गरेका छन् ।

सरकारी लिखतमा नेपाल संवत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न आज आयोजित कार्यक्रमका वक्ताहरुले गणतन्त्रको रक्षार्थ जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका हुन् । 

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले जनताको प्रतिनिधि राष्ट्रप्रमुख हुने व्यवस्था संसारकै उत्कृष्ट शासन व्यवस्था भएकाले यसको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताए । ‘नेपालले उत्कृष्ट संविधान पाएको छ । सबैलाई थाहा छ– नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएको हो । यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा. रामवरण यादवहरूलाई राष्ट्रपति बनायो ।’

नेपालको संविधान सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको सवालमा संसारकै उत्कृष्ट संविधान रहेको बताउँदै उनले यस्तो व्यवस्था संसारका कमै मुलुकमा पाइने दावी पनि गरे । ‘हाम्रो संविधान संसारकै प्रगतिशीलमध्ये एक छ । त्यसैले यसको रक्षाका निम्ति हामीले जस्तासुकै मूल्य चुकाउन तयार छौं’, नेता प्रधानले भने ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुनै नसक्ने उल्लेख गर्दै यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने उद्धघोस गरे ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले बहुदलीय लोकतान्त्रिक व्यवस्थाले मात्रै सबै भाषा, जाति, संस्कृतिको रक्षा गर्नसक्ने बताए । भने, ‘बहुदलीय लोकतान्त्रिक गणतन्त्रले नै सबैको विचार र भावनाको प्रतिनिधित्व गर्न सक्छ । हाम्रो प्रधानमन्त्रीले सबै दल र भावनाको नेतृत्व गरिरहनुभएको छ । यस्तो प्रतिकूल समयमा पनि नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लिनु सामान्य कुरा होइन ।’

नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले गणतन्त्रको विरोध गर्नेहरूलाई हिजोका दिन सम्झिन आग्रह गरे । ‘गणतन्त्रको विरोध गर्नेहरूलाई म प्रश्न गर्न चाहन्छु– के हिजोको राजतन्त्र ठीक थियो त ?’, उनले प्रश्न गरे, ‘हिजोको राजतन्त्रले गरेको निर्मम दमन र अत्याचार भुल्न सकिँदैन । यो व्यवस्थाको विरोध गर्नेहरूका विरूद्ध दृढतापूर्वक उभिन्छौं ।’

नागरिक अगुवा मल्ल के. सुन्दरले राजाको शासनकालमा नेपाल संवत् मनाउँदासमेत नेवार समुदायमाथि निर्मम दमन गरिएको स्मरण गर्दै भने, ‘विविधतायुक्त नेपालमा एकदलीय, एक वंशको शासन कसरी सही हुन सक्छ, यसलाई मान्न सकिँदैन । राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन । फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं ।’

टिप्पणीहरू