दुर्गा प्रसाईंलाई देखाउँदै राजेन्द्र लिङ्देनले भने ‘मौलिक हक खोसियो’

दुर्गा प्रसाईंलाई देखाउँदै राजेन्द्र लिङ्देनले भने ‘मौलिक हक खोसियो’

व्यवस्था परिवर्तन नभएसम्म सडक नछाड्ने घोषणा गरेका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई घरभित्रै राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंमा भइरहेको धरपकड र नजरबन्दका घटनाहरु अलोकतान्त्रिक र जनताको मौलिक हकविरुद्ध भएको बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्ने, भेला हुने र विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकार सरकारले खोसेको आरोप लगाएका छन् । 

लेखेका छन, ‘शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्दजस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन् । धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन ।’

त्यस्तै, उनले सरकारलाई तत्काल सच्चिन सुझाव दिएका छन् । राजतन्त्रको नाममा ऋण मिनाहा गराउने अभियानमा रहेका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित निवास प्रहरीले घेरेर राखेको बताइन्छ ।

हिजो काठमाडौंको बल्खुमा अराजक देखिएका आन्दोलनकारी आज थप आक्रामक हुने संकेत पाएपछि प्रहरीले प्रसाईंलाई बाहिर निस्कन नदिने रणनीति अपनाएको बुझिएको छ ।

टिप्पणीहरू