जो साक्षात् ईश्वर हुनुहुन्छ

सुन्नुहोस्

अज्ञानताको अँध्यारो हटाएर जीवनमा ज्ञानको उज्यालो प्रकाश भरिदिने गुरुत्वको बोध बेलैमा हुनु राम्रो हुन्छ । आधा उमेर ढल्किसकेपछि बल्ल ममा गुरु तत्वको बोध भएको छ । गुरु–शिष्य सम्बन्धको अनुभवका साथै गुरुजनको महिमा र महानता जान्दै छु ।

अहिले मेरो जीवनमा खासगरी दुईजना महान गुरुहरू हुनुहुन्छ । सानोमा आमाबाबुको हात समातेर हिँड्न सिकेजस्तै पत्रकारितामा मलाई मेरो बुबाले नै डोर्‍याउनुभयो । पत्रकारिताको मैदानमा मलाई दौडिन सिकाउनुभयो मेरो गुरुले । ऊबेला काठमाडौंबाट प्रकाशित हुने सबैजसो साप्ताहिक पत्रिकाहरू चितवन आउँथे । मैले लगभग सबैजसो किनेर पढ्थें ।

जनआस्था साप्ताहिकको समाचार र लेखाइ विशेष लाग्थ्यो । चितवनमा बुबाको स्थानीय पत्रिकामा काम गर्दै गर्दा केही खास समाचारहरू मैले जनआस्थामा पठाउन थालेँ । प्रकाशित पनि भए । सम्पादकले मेरो सामग्री मन पराउनुभयो । एउटा सम्पादक र सम्वाददाताको रुपमा जोडिन पुगेको हो मेरो महान गुरुसितको सम्बन्ध । त्यसपछि लेख र समाचारहरू अझ राम्ररी लेख्न सक्ने भएँ । सरकै प्रेरणा र हौसलाले प्रेस काउन्सिलबाट प्रकाशन हुने पत्रकारिता सिकाउने जर्नल ‘संहिता’ मा समेत मैले केही लेख लेखेको छु । प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित पनि भएँ ।

चितवनमा अहिले जति पनि मान्छेले मलाई चिन्नुहुन्छ, मेरो पत्रकारिता हेरेर मलाई माया गर्नुहुन्छ, त्यो सबै जनआस्थाको देन हो । जनआस्थाले मलाई पत्रकारिता जगत्मा एउटा उचाइ दिएको छ । जनआस्थाको पत्रकार भनेर जनमानसमा जाँदा होस् वा कुनै पनि सरकारी–गैरसरकारी निकायमा प्रवेश गर्दा विशिष्ट किसिमको मान–सम्मान पाएको छु । पटक–पटक मेरो आफ्नै व्यक्तिगत समस्या र अस्तव्यस्तताले म आफ्नो कर्ममा विचलित हुँदासमेत जनआस्थाले मलाई हात समातेर तानिरह्यो ।

आजसम्म साथ, सहयोग, स्नेह र अवसर पाइरहेछु । जनआस्था स्कूल हो, जहाँ उच्चस्तरको पत्रकारिताको अभ्यास गर्न सकिन्छ । पत्रकारितामै क्रियाशील रहँदै गर्दा मैले अर्काे महान गुरु भेट्टाएँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धान अधिकारी हुनुहुन्छ उहाँ । कुनै दिन राम्रै खोज–अनुसन्धानमूलक लेख–समाचारहरू लेख्ने ममा ठूलो चाहना छ । अनुसन्धानको पाटो जान्न मैले उहाँसँग सम्पर्क बढाएँ ।

मेरो लेख्ने शैलीबाट उहाँ पनि प्रभावित हुनुभयो र आफूले सक्दो सहयोग गर्नुभएको छ । किशोर सरले जस्तै उहाँ पनि मलाई ‘भाइ तिमीमा विशेष क्षमता छ,’ भन्नुहुन्छ र लेख्न हौस्याइरहनु हुन्छ । ‘तिम्रो अध्ययन कम भयो, अध्ययनमा पनि ध्यान देऊ’ भन्नुहुन्छ । त्यसका लागि महत्वपूर्ण पुस्तकहरू पढ्न सुझाउँदै आउनुभएको छ । आफैंले किताब किनेर समेत मलाई पढ्न दिनुभयो । हरेक भेटमा केही न केही जानकारीमूलक ज्ञानवद्र्धक र प्रेरक प्रसंगहरू सुनाइरहनुहुन्छ । सदा सत्मार्गमा अघि बढ्न प्रेरित गर्दै आउनुभएको छ ।

कतिपटक म विचलित भएर बाटो भड्किँदा उहाँले पनि साथ छोड्नुभएन । बरु म आउट अफ ट्रयाक भएको मान्छेलाई ट्रयाकमा ल्याउन कोसिस गर्दै रहनुभयो । गुरुहरू साँच्चिकै महान् हुँदा रहेछन् । उहाँहरूले देखाउनुभएको प्रगतिपथमा बाटो नबिराई अगाडि बढ्न सकेको भए म अझ धेरै माथि पुग्ने मान्छे । कमजोरी मबाटै भइरहेछ । तैपनि मुख मोड्नुभएको छैन । उहाँहरूको माया, साथ र हौसला पाइरहेको छु । ममा पनि राम्रो गर्ने इच्छुकता त छ नै । हेरौं, भाग्य र परिस्थितिले कहाँसम्म पुर्‍याउँछ ।
    

टिप्पणीहरू