प्रधानमन्त्रीसँगका विगत सम्झँदै प्रसाईंको बिलौना, आफ्नो निवासमा प्रचण्डले ‘प्याक’ खाएको खुलासा

प्रधानमन्त्रीसँगका विगत सम्झँदै प्रसाईंको बिलौना, आफ्नो निवासमा प्रचण्डले ‘प्याक’ खाएको खुलासा

व्यवस्था विरोधी आन्दोलनमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको विगतको सम्बन्ध स्मरण गर्दै भावुक धारणा व्यक्त गरेका छन् । 

आज अपरान्ह भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ६, कमेरोटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले प्रचण्ड परिवारसँगका विगत सम्झिएका हुन् । प्रहरीले आफूलाई नजरबन्दमा राखेको भन्दै असन्तुष्ट देखिएका प्रसाईंले प्रधानमन्त्रीसँगको सम्बन्धबारे चर्चा गरे । 

‘मेरो घरमा आज बिजुलीको लाइन काटियो, म प्रचण्डलाई भन्छु, प्रचण्डज्यू, तपाईंलाई हिजो जंगलमा हुँदाखेरी यो ठाउँमा पुर्याउने दुर्गा प्रसाईं हो’, उनले भने, ‘दुर्गा प्रसाईंहरुले ज्यान दिएको थियो । यहि घर हो कुनैदिन तपाईं र म बसेर प्याक खान्थ्यौँ मजाले । यहि घरमा आज तपाईंले अन्धकार बनाउनुभएको छ ।’ 

प्रसाईंले प्रधानमन्त्री प्रचण्डकी दिवंगत पत्नी सीता दाहाललाई आफूले ममी भनेर बोलाउने गरेको र बारम्बार आफ्नो घरमा आउने गरेको बताए । ’यहि घरमा तपाईंको श्रीमती मरेर जानुभयो, म ममी भनेर बोलाउँथे उहाँ पनि आउनुहुन्थ्यो । मेरो श्रीमतीलाई छोरी भन्नुहुन्थ्यो । तपाईं सम्झना राख्नुस्’, उनले भने ।  

भावुक भाषण गर्दागर्दै प्रसाईंले प्रधानमन्त्री प्रचण्डसँग बदला लिने धम्की पनि दिए । ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने ।

हिजो बल्खुको प्रदर्शनमा हिँसा भड्किन खोजेपछि प्रहरीले आज उनीहरुको गतिविधिमाथि कडाई गरिरहेको छ । त्यसलाई प्रसाईं र उनका समर्थकहरुले नजरबन्द भनेका छन् भने प्रशासनले सुरक्षा दिएको दाबी गरेको छ ।

टिप्पणीहरू