‘टीम इण्डिया’ का मुख्य प्रशिक्षकले हात हल्लाए

‘टीम इण्डिया’ का मुख्य प्रशिक्षकले हात हल्लाए

आइसीसी क्रिकेट विश्वकप—२०२३ को समाप्तिसँगै ‘टीम इण्डिया’ का मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको छ ।

उनी सन् २०२१ मा भएको टी–२० विश्वकपपछि भारतीय टीमको मुख्य प्रशिक्षक बनेका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका तत्कालीन अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले रवि शास्त्रीको कार्यकाल सकिएपछि द्रविडलाई मुख्य प्रशिक्षकको भूमिकामा मनाएका थिए । 

द्रविडको प्रशिक्षणमा भारत लगातार १० खेल जितेर एक दिवसीय विश्वकप—२०२३ को फाइनलमा पुगेको थियो, जहाँ अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । र, मुख्य प्रशिक्षकले ‘टीम इण्डिया’ बाट बिदाइका हात हल्लाउँदैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार द्रविडले आइपिएलको फ्रेन्चाइज ‘लखनउ सुपर जायन्ट्स’ सँग कुराकानी गरिरहेका छन् । यदि लखनउसित कुरा मिल्यो भने द्रविड आइपीएल २०२४ अघि नै एलएसजीको मेन्टर बन्न सक्नेछन् । 

तर बाहिर जे—जस्तो चर्चा भएपनि द्रविड र बीसीसीआईबीच हुने सम्भावित बैठकले यी सबै कुराको निर्णय गर्नेछ । उनले आफ्नो कार्यकाल लम्ब्याउने सम्भावना निकै कम छ ।

५० वर्षीय द्रविड आफ्नो परिवारसँग समय बिताउन चाहन्छन्, भारतीय टोलीको व्यस्त तालिका र बारम्बारको यात्राका कारण पनि उनी थकित छन् । आइपिएल टीममा सामेल हुँदा द्रविडलाई आफ्नो परिवारसँग बस्न पर्याप्त समय दिइनेछ, किनभने प्रतियोगिता केवल दुई महिना मात्र चल्नेछ ।

लखनउ सुपर जायन्ट्स पूर्वक्रिकेटर द्रविडलाई बोर्डमा राख्नको लागि उत्सुक छ । त्यसैपनि, पूर्वक्रिकेटर गौतम गम्भीर ‘कोलकाता नाइट राइडर्स’ मा सरेपछि लखनउ सुपर जायन्ट्समा मेन्टरको पद खाली नै छ ।

सन् २००८ को आइपिएल च्याम्पियन ‘राजस्थान रोयल्स’ पनि राहुल द्रविडलाई आफ्नो टीममा समावेश गर्न चाहन्छ । राजस्थानले पनि उनलाई मेन्टर बनाउन चाहेको अधिकारीहरू बताउँछन् ।

द्रविड यसअघि आइपिएलमा ‘राजस्थान रोयलस’बाट खेलाडी र प्रशिक्षक दुवै भूमिकामा देखिएका नामी पात्र हुन् । उनको दुईवर्षे प्रशिक्षण करियरमा भारतले कुनै पनि आइसिसी ट्रफी जित्न सकेको छैन, तर द्विपक्षीय खेलमा टीमको प्रदर्शन निकै शानदार रह्यो ।
भारतले निर्णायक खेल हारेपनि मुख्य प्रशिक्षक द्रविडको चर्चा ‘विश्व क्रिकेट’मा थप चुलिएको छ । भारत अहिले तीनै फम्र्याटमा ‘विश्वको नम्बर—वान’ क्रिकेट टीमको सूचीमा छ । 

द्रविड बीसीसीआइको मुख्यालयबाट निस्किँनै लाग्दा भारतीय क्रिकेट टीमका पूर्वब्याट्सम्यान बीबीएस लक्ष्मण मुख्य प्रशिक्षकका प्रबल दाबेदार मानिन्छन् । उनी अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजका मुख्य प्रशिक्षक पनि हुन् । तर, बीसीसीआइले तय गरेको नियमअनुसार मुख्य प्रशिक्षकका लागि पुनः आवेदन दिनुपर्नेछ ।

स्रोतकाअनुसार बोर्डले द्रविडलाई फेरि एकपटक मुख्य प्रशिक्षकका लागि आवेदन दिन अनुरोध गर्न सक्नेछ । यदि नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरिएमा लक्ष्मण बलियो दाबेदार हुनेछन् किनभने बीसीसीआइले एनसीएको जिम्मेवारीमा रहेको व्यक्ति र प्रबन्धको ज्ञान भएको व्यक्ति भूमिकाका लागि तयार हुने प्रक्रिया अघि सारेको छ ।

पूर्वमुख्य प्रशिक्षक रवि शास्त्रीको कार्यकाल समाप्त भएपछि द्रविडलाई मुख्य प्रशिक्षक बनाइयो, उनी ‘एनसीए—प्रवक्ता’ थिए । अहिले लक्ष्मण पनि त्यस्तै भूमिकामा छन् । र, लक्ष्मणसँगै चर्चामा छन्ः अनिल कुंकले, वीरेन्द्र सहवाग, जहिर खान, महिन्द्रसिंह धोनी र आशिष नेहरा ।

टिप्पणीहरू