सिग्देल जर्नेलविरुद्ध पनि उजुरीको सिलसिला शुरु

सिग्देल जर्नेलविरुद्ध पनि उजुरीको सिलसिला शुरु

नागरिकता र शैक्षिक प्रमाणपत्र किर्तेको आरोप लागेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा सरकारले गत बिहीबार स्वीकृत गर्यो । 

नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको विवाद चर्किएपछि व्यक्तिगत कारण देखाएर उनले बुझाएको राजीनामालाई गत कात्तिक २४ गतेबाट लागू हुने गरी क्याबिनेटले स्वीकृत गरेको हो ।

उनको राजीनामापछि उक्त स्थानमा दुईतारे जर्नेल अशोक सिग्देल आइपुगेका छन् । आगामी भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुनेगरी लाइन सोझिएको छ ।  

यसअघि सरोजप्रताप राणा घर जानासाथ सीताराम खड्काले बलाधिकृतको जिम्मा लिएका थिए । अहिले उनी सेनाको दोस्रो वरीयतामा छन् । खड्काले पुसमा अवकाश लिएपछि युएन फोर्समा कमाण्डर रहेका निर्मल थापा उनको ठाउँमा आउने छन् । 

तर,यसबीच सिग्देलविरुद्ध पनि पाण्डेको जस्तै उजुरी पर्न थालेको छ । उनको पनि शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गर्न मंसिर ४ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगमा सोही मितिमा दर्ता भएको सी ०२९५६३ नम्बरको निवेदनमा शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेकोमा नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याई भविश्यमा सैनिक प्रमुख बन्न खोजेको ब्यहोरा उल्लेख छ ।

लेखिएको छ, ‘प्रहरी र निजामतीतर्फको नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ । पछिल्लो समय सेनाका नक्कली प्रमाणपत्रको समेत आयोगले अनुसन्धान थालेको हुँदा सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति पनि छानबिन हुनुपर्ने देखिन्छ ।’

टिप्पणीहरू