खरदारका सामु मन्त्री अनिता खुत्रुक्कै

खरदारका सामु मन्त्री अनिता खुत्रुक्कै

कर्मचारीको सरुवा बदरदेखि सेनाका ठेक्का पट्टामा समेत ऋषि धमला मुछिन थालेका छन् । गत साता एक जना खरिदारको सरुवा बदर गर्न धमला सिंहदरबारै पुगे । मन्त्री, सचिवदेखि कर्मचारीसम्म टाउको दुखाई बनिरहेको सरुवा उनैको मध्यस्थतामा टुंग्गिएको सिंहदरबारभित्र चर्चा छ । 

पाँच वर्षदेखि मालपोतमा जरा गाढेर बसेका दुई खरिदारको सेटिङ धन्दाविरुद्ध सामान्य प्रशासनदेखि भूमि व्यवस्थासम्म गुनासो बढेपछि, सरुवा प्रक्रिया अघि बढ्यो । दुबै खरिदारलाई भूमिबाट गृहतिर पठाइयो तर तिनको पावर यति कडा कि थेग्नै सकस ! 

सरुवा उल्टाउन कांग्रेसका केही मन्त्री, सांसददेखि कर्मचारी ट्रेड युनियनबाट दबाब दिने सिलसिला चल्यो, अझैं जारी छ । कर्मचारी प्रशासन स्रोतका अनुसार यी खरिदारद्वयको सरुवा बदर गरी पुरानै ठाउँमा फर्काइदिनुपर्‍यो भन्दै अहिलेसम्म झण्डै ३ दर्जन उपल्ला तहका अधिकारीले विभिन्न माध्यमबाट दबाब दिइसकेका छन् ।

मन्त्रीदेखि कर्मचारी प्रशासनका हाकिमहरूलाई यसरी हैरान खेलाउनेहरु हुन् दीपक कोइराला र दुर्गामान राई । दीपक (कर्मचारी संकेत नम्बर १७६४१०) र दुर्गाको (कर्मचारी संकेत नम्बर २०२९३०) सरुवा उल्टाउन शहरी विकासमन्त्री सीता गुरुङदेखि अधिकांश नेता, कांग्रेसनिकट ट्रेड युनियनका उपाध्यक्ष उत्तम कटवालहरू हातै धोएर लागे । केही जोर चलेन । राईले अख्तियार प्रमुख प्रेम राईको आफन्त हुँ भन्दै ध्वाँस दिए अनि कोइराला पनि के कम ! सादगी प्रशासकका रूपमा चिनिएका यादव कोइरालाको समेत नाम बेच्न बाँकी राखेनन् ।

काँहीबाट केही जोर नचलेपछि बिहीवार ऋृषि धमलालाई बोकेर सामान्य प्रशासनमन्त्री अनिता देवीको च्याम्बरमै पुगे र सरुवा उल्टाउन दबाब थिए । तत्काल सरुवा उल्टाउँदा गलत सन्देश जाने भन्दै अनिताले गृह मन्त्रालयबाट भूमि मन्त्रालय मातहतकै निकायमा अहिले पठाउने र केही महिनापछि पुरानै ठाउँमा फर्काउने बचन दिइन् । सोहीअनुसार पत्र तयार भयो ५ मंसिरमा र गृह अन्तर्गत भएको सरुवा बदर गरी भूमि व्यवस्था मन्त्रालयमै फर्कन सफल भएका छन्् । निजामती ऐनले एउटा कर्मचारी बढीमा दुई वर्षसम्म एउटा कार्यालयमा बस्न सक्ने, त्यसपछि सरुवा हुने अनिवार्य व्यवस्था गरेको छ । 

गत मंसिर ५ को सामान्यका अधिकृत हरिशरण न्यौपानेको हस्ताक्षरित पत्रमा यी दुबै खरिदारद्वयलाई केही महिनापछि पुरानै ठाउँमा खटाउने गरी हाललाई गृहबाट भूमिसुधार मन्त्रालय मातहतकै भूमि आयोगमा राई र समस्याग्रस्त सहकारीको कार्यालय हेर्ने गरी कोइरालालाई खटाइएको स्रोतले बतायो । 

उसो त उनै ऋषि धमला सार्वजनिक बिदाको दिन बाजेको सेकुवाको भित्रपट्टी कोठामा भेटिन्छन् । एकजना महासेनानीसँग उनको गोप्य डिल हुने गरेको सैनिक स्रोतले जनाएको छ । अहिले सेनाले सम्हाल्दै आएको फाष्ट ट्रयाकको ठेक्कापट्टा लगाउने काममा बिचौलियाका रूपमा धमलाले काम गर्दै आइरहेको सम्बद्ध स्रोतले जनाएको छ । 
 

टिप्पणीहरू