प्रसाईं यता, राजा उता

प्रसाईं यता, राजा उता

अन्त्यमा दुर्गा प्रसाईंको आन्दोलनले पनि पानी खाएछ । उनले काठमाडौंमा तीन लाख मान्छे उतारेर आन्दोलन गरेका थिए । तीन तीन लाख मान्छे उत्रेपछि यसलाई जनविद्रोह नै भन्नुपर्ला । उनी चाहन्थे कि तीन लाख मान्छे उत्रेपछि राजतन्त्र फर्किहाल्छ । त्यसैले उनले राजा आऊ देश बचाऊ भन्ने नारा लगाएका थिए । 

तर अनौठो भयो । उनी राजा आऊ भनिरहेका थिए । तर राजा आएनन् । उल्टो राजा त गए । अर्थात् राजा झापा गए । दुर्गा प्रसाईं राजा ल्याउन झापाबाट काठमाडौंमा आन्दोलन गर्दै थिए । राजा भने काठमाडौंबाट झापा जाँदै थिए । राजाले काठमाडौंको प्रदर्शनमा भाग लिएनन् । झापाको प्रदर्शनमा भाग लिए । दुर्गा प्रसाईं ट्वाँ परे ।

के भाको होला यो ? राजा आफै झापा आउने भए दुर्गा प्रसाईं किन काठमाडौं आउनुपथ्र्यो ? उतै मिलाएर प्रदर्शन गरे हुन्थ्यो ! राजाले झापा गएर राप्रपाका नेताहरूलाई दर्शनभेट दिँदैछन् । यता दुर्गा प्रसाईं नजरबन्दमा पर्दासमेत राजाले चुँ बोलेनन् । आखिर राजाले चाहेको के ? प्रसाईंले भनेकै थिए, राजालाई अब नागार्जुनबाट बोकेर सिधा नारायणहिटीमा बसालिनेछ । अब राजा नै नागार्जुनबाट झापा गएपछि नारायणहिटीमा कसरी बसाल्ने ? त्यसैले आन्दोलनै क्यान्सिल । 

प्रसाईं अहिले चकित खाइरहेका छन् । आखिर यो भइरहेछ के ? जुन राजाको लागि यत्रो आन्दोलन मच्चाइयो, उही राजाले विश्वास नगरेपछि गर्ने के ? 
 

टिप्पणीहरू