ग्राउण्ड ह्याण्डलिङबारे कर्मचारी आन्दोलन जारी, बेवास्ता गरिए सेवा अवरुद्धको चेतावनी

ग्राउण्ड ह्याण्डलिङबारे कर्मचारी आन्दोलन जारी, बेवास्ता गरिए सेवा अवरुद्धको चेतावनी
सुन्नुहोस्

नेपाल वायुसेवा निगमका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण हुने विमानहरुको भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) यथावत रुपमा निगमलाई नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । निगममा क्रियाशील रहेका ट्रेड युनियनहरुले निगमले गर्दै आएको भूमिस्थ सेवालाई निरन्तरता दिने निर्णय नगरेमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेवानि कर्मचारी युनियन, नेवानि कर्मचारी संघ र नेवानि स्वतन्त्र कर्मचारी युनियनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन नभएमा भूमिस्थ सेवा अवरुद्ध पार्ने र त्यसबाट उत्पन्न हुने परिस्थिति स्वयम् सरकार हुने भन्दै सचेत गराएको हो । 

‘निगमले गर्दै आएको भूमिस्थ सेवालाई निरन्तरता दिने निर्णय यथावत कायम नराखेसम्म यस संयुक्त ट्रेड युनियन संघर्ष समितिले आफ्नो आन्दोलनका कार्यक्रम निरन्तर रुपमा गर्ने र हाम्रा मागप्रति बेवास्ता गरेमा ग्राउण्ड ह्याण्डलिङ सेवासमेत अवरुद्ध गराउने जानकारी गराउँदै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मा सरोकारवाला आफैंले लिनुपर्ने व्यहोरा जानकारी गराउँदछौं’, ज्ञापनपत्रमा उल्लेख छ । 

त्यस्तै, युनियनले निगमलाई बदनाम नगराउन प्राधिकरणसमक्ष आग्रह गरेको छ । निगमको व्यवस्थापन र कार्यशैलीका कारणले युरोपियन युनियनले नेपाललाई कालोसूचीबाट नहटाएकोमा बद्नाम गराउने अभिप्रायले प्राधिकरणले गरिरहेको अतिरञ्जित प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ । 

प्राधिकरणको हालको नेतृत्व र काम गर्ने स्तरका कारण नेपाल कालोसूचीमा परेको युनियनको आरोप छ । भनिएको छ, ‘ईयुले गरेको अडिट भनेको नेपाल राज्यको नियामक निकाय क्यानको नियमनकारी भूमिकाको स्तरको लागि हो । नेवानिलगायत अन्य एअरलाइन्सहरुको भूमिका भनेको नियमनकारी निकाय क्यानले गर्ने नियमनभित्रको एउटा सानो सम्बन्ध मात्र हो । तसर्थ क्यानको हालको नेतृत्व र काम गर्ने स्तरले गर्दा नै ईयु ब्ल्याकलिष्टमा पर्नुको कारण हो ।’

कर्मचारीहरुले निगमले खरिद गर्न लागेको तीन वटा जहाजको विषयमा पनि धारणा राखेका छन् । निगमलाई घेराबन्दी गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई माफियाको ईशारा तथा निहित स्वार्थमा जहाज खरिद प्रक्रियालाई अवरुद्ध पार्न खोजिएको र स्थापनाकालदेखि नै निगमले गर्दै आएको भूमिस्थ सेवालाई प्रतिस्पर्धाको नाममा अन्य हवाई कम्पनीलाई सुम्पिन लागिएको कर्मचारीहरुको आरोप छ ।

 

टिप्पणीहरू