मन्त्री फेर्न प्रधानमन्त्रीलाई मुश्किल

मन्त्री फेर्न प्रधानमन्त्रीलाई मुश्किल
सुन्नुहोस्

सत्तारुढ गठबन्धन दलको बैठकमा पटक पटक मुलुकको अर्थतन्त्रले सकारात्मक गति नलिएको भन्दै चिन्ता व्यक्त गरिए पनि सुधारतर्फ भने कोही अग्रसर भएका छैनन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाले प्रकाशशरण महतको नराम्रो कुरा सुन्नै नचाहेपछि गठबन्धनमा अर्थमन्त्री फेर्ने चर्चा फासफुस हुने गरेको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा पटक पटक अर्थमन्त्रीको कार्यशैलीवारे आलोचना हुने गरेको र उनले ढंग नपुर्‍याएकाले परिवर्तन गर्नु पर्ने कुरा उठ्ने गरेको छ । देउवा यस विषयमा टसमस नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास पनि पानीको फोका हुन पुगेको हो । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रका सबै सूचक नकारात्मक देखिँदै छ भने पर्यटन क्षेत्रमा मात्रै केही सुधारको आशा हुने आँकडा देखिएको छ । चालु वर्ष संख्यात्मक रूपमा गत वर्षभन्दा एक–डेढ लाख बढी पर्यटक भित्रिएको अवस्था छ । उत्पादन र उत्पादकत्व, निर्यात, आयातलगायत अन्य क्षेत्रमा भने अवस्था झनै खच्किएको छ ।

कर्मचारीलाई तलब दिनको लागि ऋण लिनुपर्ने अवस्था छ । विकासभन्दा साधारण खर्चतर्फ बजेट बढ्दो छ । वैदेशिक ऋण वृद्धि भई ६ अरब डलर पुगेको अवस्था छ । मुलुकबाट पु“जी पलायन भएको छ । तर अर्थमन्त्री महतले अर्थतन्त्र सुधार निम्ति प्रभावकारी कुनै  कार्यक्रम गर्न सकेका छैनन् ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरु गृह मन्त्रालय लैजाऊ, अर्थतन्त्र सुधारका लागि केही कार्यक्रम पनि बनाउन नसक्ने व्यक्तिलाई परिवर्तन गर भन्न नसकेको दाबी स्रोतले गरेको छ । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि सरकारमा जाने कसरतमा उत्रिएका छन् ।

लामिछानेले प्रधानमन्त्री दाहालसमक्ष आफुलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिए सरकारमा सामेल हुने खबर तारन्तार पठाएका छन् । तर रास्वपा र उनको पुनः गृहमन्त्री हुने रहरलाई सत्तारुढ गठबन्धनमा रहेका अन्य दलहरूले खासै चासो दिएका छैनन् । 

 

टिप्पणीहरू