प्लेनबाट हेर्दा ललितपुर

प्लेनबाट हेर्दा ललितपुर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले राम्रै भन्नुभएछ । उहाँले भन्नुभयो कि राति प्लेनबाट उपत्यका हेर्दा जहाँ बत्तीको झिलिमिलि देखिन्छ, त्यही ललितपुर हो । वाह † ललितपुर चिन्न अब केही पनि गर्नु पर्दैन । राति प्लेन चढ्ने । आकाशबाट हेर्ने । झिलिमिलि बत्ती बलेको छ भने त्यो ललितपुर भयो । बत्ती बलेको छैन भने त्यो काठमाडौं भयो । ललितपुर र कान्तिपुर छुट्याउने तरिकै यही भयो ।

यसबाट थाहा हुन्छ, अब नेपाली जनतालाई ललितपुर चिनाउने जिम्मा पनि कुलमान घिसिङमा सरेछ । घिसिङको जिम्मा बत्ती बाल्ने मात्रै थियो । अब शहर चिनाउने पनि भयो । घिसिङले चाहे भने अब ललितपुर शहरै गायब पनि बनाइदिन सक्छन् । राति ललितपुरमा लोडसेडिङ पारिदिए भने प्लेनबाट दुरबिनै लगाएर खोज्दा पनि ललितपुर भेटिँदैन । 

त्यसो त ललितपुरभन्दा पनि पहिले झिलिमिलिको योजना ल्याउने नगर काठमाडौं महानगरपालिका हो । यसको लागि काठमाडौं महानगरपालिकाले तयारी पनि गर्दै थियो । तर ललितपुर महानगरले त्यसैको चोरी गरी पहिले आफ्नो नगरमा लागू गरेको छ । कतै ललितपुरको यो घोषणामा काठमाडौंका मेयर बालेन साहको यस्तो स्टाटस नआओस्– हाम्रै योजना चोरी गरेर हामीलाई नै फूर्ति !

टिप्पणीहरू