नतिजा ननिकालेपछि छाड्दैनन् त देश !

नतिजा ननिकालेपछि छाड्दैनन् त देश !

त्रिभुवन विश्वविद्यालयको ढिलासुस्तीको रोग अन्य सरकारी निकायमा पनि सरेको छ । स्वास्थ्य बीमा बोर्डले पाँचाैँ तहतर्फ करार सेवामा जनशक्ति भर्नाका लागि परीक्षा लिएको लामो समय बितिसकेको छ । तर, नतिजा निकाल्ने अत्तोपत्तो छैन । बोर्डले गत वैशाख १४ गते सूचना जारी गर्दै ५५ जना कर्मचारी मागेको थियो । 

बोर्डले जेठ २८ गते सूचना जारी गरेर असार २ गते हुने परीक्षाका लागि केन्द्र तोक्यो । तोकिएको मितिमा परीक्षा पनि भयो । यद्यपि, अहिलेसम्म नतिजा प्रकाशन भएको छैन । 

यता, बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले नयाँ बोर्ड गठन नभएसम्म नतिजा प्रकाशित नहुने जनाइन् । ‘नतिजा किन प्रकाशित भएन, यसको आधिकारिक कारण त थाहा छैन । एकदमै ढिलासुस्ती भएको छ । पुरानो बोर्ड खारेज भइसकेको छ, नयाँ गठन भएको छैन’, उनले भनिन् । 
पोखराको पनि पारा उस्तै 

पोखरा महानगरपालिकामा पनि बीमा बोर्डको जस्तै हालत छ । सूचना निकालेको ८ महिना बितिसक्दा पनि परीक्षा लिन सकेको छैन । गत वैशाख १२ गते सूचना प्रकाशित गरेर ठूलो संख्यामा करार कर्मचारी मागिएको थियो । नवौं तहदेखि कार्यालय सहयोगीसम्मको लागि दरखास्त आह्वान गरिएको थियो । स्त्रीरोग विशेषज्ञका लागि दुई हजार रूपैयाँ दरखास्त दस्तुर तोकिएको थियो ।

त्यस्तै, मेडिकल अधिकृतका लागि एक हजार दुई सय, हेल्थ असिसटेन्ट, स्टाफ नर्स, कविराज, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अधिकृत, एनेस्थेसियाका लागि सात सय, सहायक कम्प्युटर अपरेटर, अ.हे.ब, ल्याब असिस्टेण्ट, अनमीका लागि पाँच सय र कार्यालय सहयोगीका लागि दुई सय रूपैयाँ थियो । 

महानगरपालिकाले आवेदन लिएपनि परीक्षा भने लिएको छैन । न विज्ञापन रद्दको कुनै सूचना नै जारी गरेको छ । ‘यो सरासर लुटतन्त्र हो । सूचना निकाल्ने, आवेदन लिने अनि परीक्षा सञ्चालन नगर्ने । यस्तो पनि हुन्छ ? यत्तिका महिना बितिसक्यो न हाम्रो पैसा फिर्ता दिन्छ न परीक्षा लिने नलिने जानकारी नै छ । के गर्न खोजेको हो, बुझ्नै गाह्रो’, स्रोतले भन्यो ।

महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले कर्मचारी भर्तीका लागि प्रक्रिया नपुगेकाले सूचना रद्द गरिएको बताए । छिट्टै आवेदकलाई दस्तुर फिर्ता गरेर पुनः नयाँ सूचना निकालिने उनको भनाइ छ । 

 

टिप्पणीहरू