सिंहदरबारभित्रै बिचित्रको संसार

सिंहदरबारभित्रै बिचित्रको संसार

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै दुई दर्जन हाराहारी फष्र्ट क्लास अफिसर बेरोजगार बनाइएको छ । अर्थ मन्त्रालयका आधा दर्जन, फष्र्ट क्लास अफिसरले हाँक्ने ५ जिल्ला प्रमुख जिल्ला अधिकारी विहिन अवस्थामा चलिरहेका छन् । केही सहसचिव चार महिनाभन्दा बढी समयदेखि जिम्मेवारीविहीन अवस्थामा छन् । जबकि निजामती ऐन ०४९ ले कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा लामो समय जगेडामा राख्न पाइँदैन भन्छ । 

गृहमा ६, अर्थमा ५, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ जना सहसचिव बरण्डामा थन्क्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नारायण सापकोटा चार महिनादेखि जिम्मेवारी पाएका छैनन् । राजश्व अनुसन्धान विभागबाट चार महिनाअघि उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्यहाँ नवराज ढुंगानालाई खटाइएको थियो । त्यहीँ नवराज घिमिरे र किरण रूपाखेती जगेडामा थपिएका छन् ।

अर्थमन्त्री प्रकाश शरण महतलाई आफ्ना कार्यकर्ता फिट गर्न परेपछि मध्यमस्तरीय करदाता कार्यालयबाट तानिएका ढुण्डी निरौला अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कौसीमा घाम ताप्दै छन् । यसअघि उनैलाई चार महिनासम्म गृहमा जिम्मेवारविहीन बनाएर राखिएको थियो । 

उता अर्थमा पाँच सहसचिव बेरोजगार छन् । राजेश्वर ज्ञवाली चार महिना जगेडामा छन्् । यस्तै महेश आचार्य, पार्वती अर्याल, महेश बराल, अमृत लम्सालहरूको दैनिकी हाजिर गरेर फर्कनेमा सीमित छ । अर्थमा कर्मचारी प्रशासन माहाशाखा हेर्दै आएका आनन्द काफ्लेले गृहतिर फड्को मारेपछि अर्थको कप्र, आन्तरिक राजश्व विभाग, ऋण व्यवस्थापन कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र भन्सार जाँचपासपछिको परीक्षण कार्यालय नेतृत्वविहीन छ तर अर्थमन्त्री प्रकाशशरण महत र सचिव कृष्णहरि पुष्करले कसैलाई खटाउन सकेका छैनन् ।

अर्थसचिव कृष्णहरि पुष्करको ब्याची महेश बराललाई मध्यमस्तरीय करदाता कार्यालयमा पठाउन खोजिएको छ । हाल त्रिवि भन्सार प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका टोपराज पाण्डेले पनि त्यही निकाय ताक्दा पठाउन बिलम्ब भइरहेको हो भनिँदै छ । संस्थान समन्वय महाशाखा हेर्दै आइरहेका भुपाल बरालले आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर त्यहाँ जाने चाँजो पाँजो मिलाइरहेको अर्थ मन्त्रालयतिर चर्चा छ । यस्तै, अमृत लम्साल वा पार्वती अर्यालमध्य एकलाई मलेनिकामा लगेर त्यहाँबाट शम्भु मरासिनीलाई अर्थको कप्रमा ल्याउने तयारी भइरहेको अर्थ स्रोतले जनाएको छ । 

उता गृहमै ६ उपसचिवलाई बरण्डामा थन्काइएको छ । अख्तियारबाट गृह प्रवेश गरेका भोला दाहाल, प्रेमप्रसाद भट्टराई, आनन्द काफ्ले, भरत खनाल, स्किम श्रेष्ठ र नारायणप्रसाद अर्यालको दैनिकी हाजिर गर्ने र फर्कनेमा सीमित छ । फष्र्ट क्लास अफिसरले हाँक्ने झापा, सुनसरी, सिन्धुपाल्चोक, तनहुँ र प्युठानलगायत जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन छन् । अध्यागमन विभागबाट सामान्य प्रशासनको बरण्डामा झलकराम अधिकारीलाई लगिएको पाँच महिना पुग्न लाग्यो । यस्तै नीता पोखरेल पनि सामान्यको बरण्डामा छिन् । अघिल्लो आर्थिक वर्ष यसैगरी कर्मचारीलाई बरण्डामा राखेरै १० करोड ५२ लाख रकम तलब खुवाइएको थियो । 

टिप्पणीहरू