भीम रावलले यसरी भ्याइदिँदा

भीम रावलले यसरी भ्याइदिँदा

पार्टीले वास्ता नगर्ने, आफूले पनि नछाड्ने ! कारण रहेछ, ‘हिसाब’ बाँकी नै रहनु । कर्णालीबाट एउटा ‘हिसाब’ निस्किँदा बल्ल एमाले अध्यक्ष केपी ओली झस्किनु भएको छ । 

भीम रावलका हकमा हो, यस्तो भएको । प्रदेश अधिवेशनदेखि नै ओलीअनुकूल बन्न नसकेको कर्णालीको पार्टी नेतृत्वले देशभरिमै पहिलोपटक मुगुमा नवौैं जिल्ला अधिवेशन आयोजना गर्‍यो  र विवादका बीच भीम रावल पक्षधर पदाधिकारीको बहुमत हुने गरी नेतृत्व चयन गर्‍यो  ।

अचम्म के भयो भने, रावलपक्षीय नेतृत्व चयन हुने र ओलीका पक्षबाट विभिन्न जनसंगठनका नाममा सार्वजनिक रुपमै विरोध गरिने ! मंसिर ९ को अधिवेशनबाट सौराहा महाधिवेशनमा ओलीविरुद्ध मत हाल्ने पूर्ण रोकाया जिल्ला अध्यक्ष भए । डम्बर रावल र डिलबहादुर मल्ल पनि आकांक्षी थिए । तीमध्ये डम्बर र डिलबहादुर ओलीतिरका हुन् । पूर्ण सीधै देखिँदा प्रदेश अध्यक्ष गुलावजंग शाहपक्षीय र वास्तविक रुपमा विगतदेखि नै भीम रावल समर्थक भनी चिनिने नेता हुन् ।

उनलाई विद्या भण्डारीपक्षीय पनि भन्ने गरिन्छ । बताइएअनुसार उपाध्यक्ष रत्नसिंह विष्ट, सचिव सुरेन्द्रबहादुर मल्ल पनि रावलतिरकै हुन् । उपसचिव मदन बानियाँ, बलात्कार आरोपमा सजायँ पाएका पूर्वमाननीय मोहन बानियाँ र अर्का उपसचिव होइजाली बिक पनि रावलतिरका मानिन्छन् । मुगुमात्र हैन,  रावललाई नेतृत्वले यही ढंगबाट बेवास्ता गर्दा सुदूरपश्चिमका सबै जिल्ला, कर्णालीका पाँचसहित लुम्बिनीका तीन जिल्लामा त्यसको प्रभाव पर्ने स्थितिका कारण ओली झस्किनुभएको हो ।

त्यसो त प्रदेश अधिवेशनमा देखिएको ओलीप्रतिकूलका घटना जिल्ला अधिवेशनहरुमा झन् बाक्लिने खतरा छँदैछ । त्यसैले रावलले नयाँ पार्टी बनाउने, मान्छे चोर्नेजस्ता काम नगरी एमाले भएरै केही जिल्ला कब्जा गर्ने नीति लिएका छन् । जिल्ला अधिवेशनपछि आफ्नो टिम देखाएर ओलीसँग बाँकी कुराकानी गर्ने उनको मनस्थिति छ । तर, अभियानकै क्रममा रावल–ओली संवाद भएको र फर्किएलगत्तै भेट्ने खबर रावलले पाएको बताइन्छ ।


 

टिप्पणीहरू