रोल्पामा बसेर अक्षरको खेतीपाती
16 shares
मेरो जन्म दाङ जिल्ला तत्कालीन हापुर गाउँपञ्चायत वडा नं ६ हाल घोराही उममहानगरपालिका–११ शिवपुरमा २०१५/०७/१५ गते बुबा हेमबहादुर डाँगी आमा जमुनादेवीको कोखबाट जन्म भएको हो । त्यसबखत गाउँमा स्कुल थिएनन् । खाली चौरमा बसेर पढाइ गरिन्थ्यो।
एक जना चिन्तामणि रोकाको गोठमा गाई भैंसी फुकाएर ग्वाला जंगलतिर लगेपछि हाम्रो पढाइ सञ्चालनमा आउँथ्यो । गुरु प्रेमनारायण अधिकारी हुनुहुन्थ्यो । शिवपुरमा प्राविको कोटा थप आएपछि शिवराज गौतमको पहलमा विद्यालय भवन निर्माण गरियो । पञ्चायती शासकहरूले वारेन्ट काटेपछि भारतको पञ्जाबतर्फ लागेँ र ८/१० वर्ष उतै अल्मलिएँ । मैले पत्रकारिता आरम्भ गरेका २०५१ सालदेखि हो।
बुटवलमा पत्रकारिताको तालिम लिई २०५१ सालबाटै दैनिक लुम्बिनी पत्रकारितासँग जोडिएँ। उक्त पत्रिकामा गुरु केबी मसालको सहयोगमा दाङको घोराहीबाट रिपोर्टिङ गर्थें । त्यसपछि मित्र भोजराज आचार्यले जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा लगी सम्पादक किशोर श्रेष्ठसँग परिचय गराइदिनुभयो । अनि नयाँ युगबोध दैनिक, गणतन्त्र दैनिक, दैनिक पत्र, जनसंघर्ष, जनधारणालगायत करिब आधा दर्जन पत्रिकामा क्रियाशील रहे ।
म आफैँ पत्रकार हुँ र पत्रिकाको वितरण पनि कुनै संकोचबिनै गर्दै आएको छु । काम गर्न लाज मान्नु हुँदैन भन्ने मेरो धारणा छ । २०६१ सालमा प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पा गठन गर्दै संस्थाको अध्यक्षसमेत भएँ । त्यस्तै २०६४ सालमा कर्मचारी संगठनबाट सम्मानित भएँ । अहिले पत्रकारिता पेशालाई व्यापारको रूपमा बढी प्रयोग गरिएको देखिन्छ ।
दश वर्षे द्वन्द्वताका सबैभन्दा प्रभावित जिल्ला रोल्पामा बसेर पत्रकारिता गर्नु कदापि सजिलो थिएन । संकटकालको बेला धेरै साथी जिल्ला छाडेर अन्यत्र लाग्नुभयो । तत्कालीन शाही सेनाबाट मलगायतलाई पटक–पटक बोलाइयो तर मैले विभिन्न बहाना बनाउँदै टारेँ । म र अन्य साथीको पहलमा पत्रकार महासंघ स्थापनानिम्ति हामीले व्यक्तिगत खर्च गरेको बिर्सेको छैन ।
महासंघको बोर्ड लेख्न पैसा नपुगेपछि व्यक्तिगत रूपमा रामचन्द्र श्रेष्ठलाई ८ सय रूपैयाँ तिरेको छु । उतिबेला सामान्य काम गर्न आवश्यक रकम पनि थिएन । अहिले सबैको सहकार्यमा रोल्पा जिल्लामा दैनिक पत्रिकाको अति नै आवश्यकता खड्किरहेको छ ।
16 shares
टिप्पणीहरू