मनस्थिति फेरौँ साथी, स्थिति आफैँ फेरिन्छ

मनस्थिति फेरौँ साथी, स्थिति आफैँ फेरिन्छ
सुन्नुहोस्

हो साथी, अहिले जता गयो त्यतै निराशै निराशाका कुरा सुनिन्छ । केही भएन, कसैले केही गरेन भन्दै समय फालिरहेको भेटिन्छ । भट्टी र चिया पसलमा तातो र चिसो चिया पिउँदै, चुरोट तान्दै, कहिले पोट त कहिले तासको पत्ता हान्दै पुराना पार्टी, नेता, मन्त्री, सरकार, व्यवस्थाको आलोचना र गाली गरिरहेको सुनिन्छ । आफैँले भने सिन्को सारेको देखिँदैन । 

अरु त यस्तै भए, यी र यस्तै मानिसलाई सकारात्मक र उज्यालो बाटो देखाउने जिम्मेवारी बोकेको समाचार माध्यमसमेत यस्तै निराशा, कुण्ठा, असन्तुष्टि, कटाक्ष, अँध्यारोपक्षजस्ता विषयलाई गजबको मसला देख्दछ । र, त्यसलाई नै के के न जस्तो प्रभावकारी समाचार र समाचार सामग्री ठानेर सम्प्रेषण गर्छ । सामाजिक सञ्जाल त यस्तै निराशा, कुण्ठा छर्ने जञ्जाल भइहाल्यो । सकारात्मकता छाडेर अरु पक्ष हेर्दा यसले समाजमा निराशा फैलाएर नकारात्मक जनमत निर्माणमा ठूलो भूमिका खेलेकोमा कुनै विवाद छैन । गणतान्त्रिक पार्टी, नेताको काम गराई प्रमुख कारण हो, नत्र त सामाजिक सञ्जालबाट शब्दको जाल नफालिएको भए टिनएज नकटेको किशोर गणतन्त्रविरुद्ध आजै नारा जुलुस लाग्ने थिएन । समाजको गति रोक्ने राजतन्त्रको पक्षमा यति छिट्टै आवाज उठ्न सम्भव हुन्थेन । हुन त भूतको काम छायाँ बनेर तर्साउने हो, ऊ सदृश्य रुपमा देखिन सक्दैन तर आफ्नै गल्तीका कारण कमजोर मुटु भएका गणतन्त्रवादी तर्सन सक्छन् ।

इमान्दार मानिस लोकसेवा पास गर्छ । जागिर सुरु गर्छ । काम गर्दै गयो ऊ नै भ्रष्ट बन्छ त कसको के लाग्छ ? धनाढ्य मानिसलाई नै देशको माया छैन, छोराछोरी विदेश लखेट्छन् त एक्लो सिंहदरबारले के गर्ने ?  

पुराना दिनका दुःख, पीडा, यातना चटक्कै बिर्सने र र नयाँ जोकरफाल्टु कुराको पछि दौडेर आफैँले ल्याएको व्यवस्थाविरूद्ध लाग्न पछि नपर्ने स्वभाव बोकेका मान्छे हौँ हामी । नेतादेखि जनतासम्मका हामीले जानेको वास्तवमा कुरा काट्न र भ्रम छर्न हो । सधैँ नकारात्मक कुरा, गुनासो मात्रै ग¥यौँ । अरुमाथि मात्रै औँला ठड्यायौँ । के सकारात्मक रुपमा यसरी पनि सोचेका छौँ ? कुशासन, भ्रष्टाचारका कुरा अहिलेलाई छोडौँ । आजको सीमित विकास पनि त्यसै भएको हो ? सञ्चार, यातायातलगायत विभिन्न क्षेत्रमा भएको यो विकास विकास होइन र ? आजको दिन त्यसै आएको हो ? सात साल अघिसम्म कुनै नेपाली नागरिकको परिचय, अस्तित्व थियो ? राणा र शाहबाहेक हामी जनताको इतिहास लेखिन्थ्यो ? हामीले लेख्न, पढ्न, बोल्न पाएका थियौँ ? लेखेकै कारण मारिएका होइनन् कृष्णलाल सुब्बा अधिकारी ? आजकै दिन ल्याउनुपर्छ भन्दा होइन लखन थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको ? के उनीहरूले सहादत प्राप्त गर्ने आँट नगरेको भए यसरी लेख्न, बोल्न, हिंड्न, कमाउन, रमाउन पाइन्थ्यो त ? यिनले गल्ती गरेका हुन्, अहिले पनि गरिरहेका छन् । तर सात सालदेखि आजसम्म पनि यिनै नेता, पार्टीले लडेका होइनन् र ? यी पार्टी, नेताले नलडेको भए हामी अझ नागरिक हुन पाउँथ्यौँ ? 

अर्काेतिर नेताले मात्रै गर्न खोजेर केही हुँदोरहेनछ । गर्न जिम्मा दिएको व्यक्ति नै फटाहा, भ्रष्ट भएपछि कसको के लाग्छ ? जस्तो कि इमान्दार मानिस लोकसेवा पास गर्छ । जागिर सुरु गर्छ । काम गर्दै गयो ऊ नै भ्रष्ट बन्छ त कसको के लाग्छ ? जागिर छिर्दा सपथ एउटा लिन्छ, काम अर्कै गर्छ त के गर्ने ? उच्च पदमा पुगेपछि राष्ट्रिय रकम दुरुपयोग गरेर रातारात समृद्ध बन्ने भोक जाग्छ त कसले रोक्न सक्ने ? जहाँ पनि मिलेर खान पाए सबै खुशी हुन्छन्, खान नपाए एक्लै रुन्छन्, इञ्जिनियर यस्तै गर्छ, डाक्टर त्यस्तै छ, शिक्षा, स्वास्थ्यमा कालोबजारी छ, धनाढ्य मानिसलाई नै देशको माया छैन, छोराछोरी विदेश लखेट्छन् त एक्लो सिंहदरबारले के गर्ने ? नेता पनि त्यस्तै हो । जनताको सेवा गर्छु भन्छ, भोट लिएर जान्छ, जित्छ । आफ्नो दुनो सोझ्याउने मात्रै काम गर्छ । जनताकै पक्षमा काम नगर्नेलाई हामी नै पार्टी या चिह्नको मोहमा पुनः भोट हालेर जिताउँछौँ त कसलाई दोष दिने ? सानो तह(गाउँ) देखि ठूलो (शहर) तहसम्मका हाम्रो नशा नशामा भ्रष्टाचार छ, रगत रगतमा भ्रष्टाचार छ । सास सासमा गलत प्रवृत्ति छ । त्यही भ्रष्टलाई पुज्ने, तिरस्कारभन्दा उसकै गालामा फूलमाला लगाइदिने समाज छ, अनि कसले कसलाई बदल्ने ?

यस्ता निराशा, असन्तुष्टि, आलोचना दुई खालका छन् । एकखालका मानिस स्वयं आफू, घरपरिवार, समाज, राष्ट्र र विश्व चराचरजगतका लागि केही नगर्ने तर अरुको उछित्तो मात्रै काड्ने छन् । अर्काथरि साँच्चै चिन्तित छन् । देश, समाज र विश्व मानवका लागि केही योगदान गरेका र अझै गर्नुपर्छ भन्ने विचार राख्ने यी मानिसका चिन्ता, असन्तुष्टि आक्रोश स्वाभाविक नै छ । हो, दोस्रोथरिको निराशा राख्ने मानिसले गणतन्त्र आएर पनि भनेजस्तो पद्धति भएन भनेका हुन् । उनीहरूले देखेको समस्या र गरेको पीर चिन्ता सही हो । यत्तिका मानिस सहिद, घाइते, अपांगता, बेपत्ता भएर ल्याएको गणतन्त्रमा पनि हुने खाने भन्दा हुँदा खानेलाई नै फलिफाप भयो भन्ने चिन्ता जायज हो । अरु नागरिकका माग, समस्या संबोधन त भएन भएन सहिद, बेपत्ता, अपागंता, घाइते भएका व्यक्तिका माग पनि सम्बोधन हुन सकेन भनेर गरिएको चिन्ता सही हो । तर आजको सम्पूर्ण कुशासन किशोर गणतन्त्रले थुपारेको हो भन्नुचाहिँ सोह्रै आना गलत हो ।

यी दुईथरी मतभित्र पनि विद्यमान समस्या समाधान गर्न पश्चगामी, मध्यमार्गी र अग्रगामी कदम चाल्नुपर्छ भन्ने सोच भएका मानिस छन् । पश्चगामी सोच भएका मानिस यसका लागि राजा नै फर्काउनुपर्छ, गँजडी नै भए पनि राजा भएपछि छुः मन्तरले रातारात देश र जनताको कायापलट हुन्छ भन्ने खालका छन् । मध्यमार्गीहरू अहिलको व्यवस्थामा सुधार गरेर समस्या समाधान हुन्छ भन्छन् भने अग्रगामी सोच भएकाहरू यसका लागि अझै समृद्ध गणतन्त्र ल्याउनुपर्ने विचार राख्छन् । हो, यो गणतन्त्रले पुगेन भने अझ समृद्ध गणतन्त्रमा जान पर्ला, तर त्यहाँ पुगे पनि आजको मानसिकता बदलिएला र ? त्यसका लागि त हाम्रो मनस्थिति नै बदलिनुपर्छ । मनस्थिति बदलिए स्थिति आफैँ बदलिन्छ । गलत प्रवृत्तिलाई सधैँका लागि हटाउन अर्थात् लत बसिसकेको दिमागको आकारलाई सकारात्मक बाटोमा बदल्न योग, ध्यान, प्राणायम, व्यायाम गर्नुपर्छ । सधैँ आध्यात्मिक हुनुपर्छ । आध्याध्मिक हुनु धर्मभीरु हुनु होइन । आध्याध्मिक हुनु सकारात्मक हुनु हो । सदाचारी बाटोमा हिँड्नु हो । लोभी, लालची, भ्रष्ट नहुनु हो । सकारात्मक सोचको विकासले लोभ पलाउँदैन । लोभ नभएपछि गल्ती गरिँदैन । गल्ती नगरेपछि डर लाग्दैन । डर नलागेपछि चिन्ता हुँदैन । चिन्ता नभएपछि निराशा पैदा हुँदैन । चिन्ता, निराशा नभएपछि मनोबल बढ्छ । अनि निर्धक्क भएर प्रभावकारी काम गर्न सकिन्छ । 

यसका साथसाथै राज्यका कानुनहरू कडाइपूर्वक कार्यान्वयन हुनुपर्छ । स्वदेशी जनशक्ति पलायन नहुने नीति र कानुन ल्याउनुपर्छ । क्षमता र प्रतिभाको कदर र संक्षण गर्न स्वदेशमा नै अवसर दिनुपर्छ । यसका लागि एक नम्बरमा मानसिक रुपमा स्वस्थ व्यक्ति नेता बन्नुपर्छ । यही नेताले देशको बागडोर सम्हाल्नुपर्छ । राज्यका सबै निकाय (जस्तैः न्यायालय, सचिव, सुरक्षा, कर्मचारीतन्त्र, चिकित्सा, शिक्षा आदि) को प्रमुख जिम्मा यस्तै सोच भएका व्यक्तिलाई दिनुपर्छ । अनि यस्तै सोच, मानसिकता बोकेको पत्रकारले सबैलाई चेक एण्ड व्यालेन्स गरिरहनुपर्छ । त्यसैले साँच्चै मनस्थिति फेरौँ स्थिति आफैँ फेरिन्छ ।  
 

टिप्पणीहरू