सैनिकहरूको जारी छ सुइँकुच्चा

सैनिकहरूको जारी छ सुइँकुच्चा

नेपाली सेनाबाट एक महिनाको अवधिमा झण्डै डेढ दर्जन फरार भएका छन् । पश्चिम पृतना हेडक्वार्टर पोखरामा महिला फुटबल खेलको अभ्यासका लागि खटिएकी ललिता रास्कोटी बेपत्ता छिन् । बागलुङको बडिगाड गाउँपालिका–५, गुवालीचौरका दुर्गाबहादुर रास्कोटीकी नातिनी एवं भीमबहादुरकी छोरी उनी मंसिर १४ गते हाजिर हुनुपर्ने थियो । 

१८ दिन घर बिदामा गएका सिपाही तारानाथ धमला पनि भगौडामा परेका छन् । उनी कात्तिक २० देखि मंसिर ७ गतेसम्म बिदामा थिए । मोरङको लेटाङ नगरपालिका–८ का उनी पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फेला परेनन् । सिपाही अञ्जली रानामगर मंसिर १८ गते नै हाजिर हुनुपर्ने थियो । तनहुँकी उनी घरमा खोज्न जाँदा समेत भेटिइनन् । 

सिपाही गौरीशंकर मण्डल मंसिर ११ गते नम्बर २७ बाहिनी अड्डाको पेरिमिटरमा लगाइएको तारबार नाघेर सुइँकुच्चा ठोके । सप्तरीको ईनर्वा गाउँपालिका–४ का उनको खोजीका लागि प्रहरी पनि लागिरहेकै देखिन्छ ।

सिपाही सुनिल बोहोरा २० दिन गएर पनि कार्यालय फर्काएनन् । बागलुङ नगरपालिका–९ का उनी मंसिर १४ गते हाजिर हुनुपर्ने थियो । विशाल तारामी २२ दिन बिदामा थिए । मंसिर १५ गते हाजिर हुनुपर्ने उनको हालसम्म पनि अत्तोपत्तो नलागेको बुझिएको छ । घर बिदामा गएर नफर्किने अर्का सिपाही हुन्, नविन डाँगी । दाङको दंगीशरण गाउँपालिका–२ का उनलाई २३ दिन बिदा दिइएको थियो । 

दुई दिन बिदा लिएर ब्यारेकबाट निस्किएका सुशील रेग्मी स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ निवासी हुन् । मंसिर १० गते हाजिर हुनुपर्ने थियो । कात्तिक २६ गतेदेखि बिदामा बसेर हराएका भोजपुरको षडानन्द नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । 

अनिल थापा मंसिर १४ गतेपछि पनि सम्पर्कविहीन छन् । उदयपुरको कटारी नगरपालिका–४ का उनी जस्तै पाँचथरे कमल पाण्डे अहिलेसम्म पनि कार्यालयमा उपस्थित भएका छैनन् ।

घण्टे गएको बेला कसैलाई जानकारी नगराई भागेका सिपाही शिवजी साह तेलीको खोजी भइरहेको छ । रौतहटको लक्ष्मीपुखेलविछुवा गाउँपालिका–३ का उनलाई कहीँ–कतै फेला पारेमा पक्राउ गरेर उपस्थित गराउन सेनानी झनक थापाले निर्देशन दिएका छन् । 

जयराज सोडारी गत मंसिर २ गते घर बिदा मागेर ब्यारेकबाट निस्किएका थिए । दैलेखको ठाँटीनाथ गाउँपालिका–४ बस्ने उनीसँग पटकपटक सम्पर्कको प्रयास गरिए पनि कुनै जानकारी पाउन नसकेको बुझिएको छ । 

सिपाही आङदावा शेर्पा पनि भगौडा भएका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ हरिसेका उनी कात्तिक २४ गते बिदा मागेर ब्यारेकबाट निस्किएका र मंसिर ९ गते हाजिर हुनुपर्ने थियो । पारिवारिक समस्याका कारण ६ दिन छुट्टी लिएर घर गएका ब.क.सि डोलराज भट्टराई पर्वतको बिहादी गाउँपालिका–६ का बासिन्दा हुन् । 

काण्ड मच्चाउने सिपाही फरार

सैनिक अनुशासन तथा आचरणविपरीतको कार्य गर्ने एक जना सिपाही फरार भएका छन् । राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय, बर्दिबासमा काज खटाइएका ईआरई शिक्षक सिपाही सुमितबहादुर भट्टराई कारबाहीमा पर्ने डरले सम्पर्कविहीन भएका हुन् ।

पर्साको वीरगञ्ज नगरपालिका–४ का चक्रबहादुर भट्टराईका नाति एवं सुदर्शनबहादुर भट्टराईका छोरा उनले गत मंसिर ५ गते कार्यालय फर्किने क्रममा मादक पदार्थ सेवन गरी एक जना हुद्दासँग झै–झगडा गरेका थिए । उनलाई चलानी पत्रसाथ युनिट फिर्ता पठाइएको थियो । तर, उनी कार्यालयमै नआएका हुन् ।
 

टिप्पणीहरू