चिरिबाबुले खै कतिञ्जेल हो च्याप्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फुटपाथ हटाएर चर्चा कमाउँदै गर्दा बढेको आलोचनाबीच चुपचाप आफ्नो काम देखाइरहेका भनिने चिरिबाबु महर्जनले पनि सिको गर्न थालेपछि सकस व्यहोर्ने अवस्थामा पुगेका छन् । कुरा त्यही फुटपाथकै हो । बालेन्द्रले फुटपाथ हटाएपछि संसारका धेरै विकसित देशमा फुटपाथ भएको तथ्यसहित इञ्जिनियर इ लगायत अभियन्ताले विरोध जनाए ।
महर्जनले सम्पदा क्षेत्रमा रात्री जीवनको सम्भाव्यता अध्ययन गर्ने नाममा मंगलबजारलाई लक्ष्यित गर्दै फुटपाथ हटाउन लगाए । काठमाडौंका नगर प्रहरीकै स्टाइलमा ललितपुर प्रहरीले माइकिंग गर्दै फुटपाथ हटायो । मंसिर २४ देखि लगनखेलबाट मंगलबजार जाने बाटोको फुटपाथ हटाउने बताए पनि खासमा त्यसको अन्तर्य रात्री जीवन र फुटपाथ खाली गर्ने नै भएको महानगरको भित्री स्रोत बताउँछ ।
ललितपुरमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन र परिचालनको हिसावले पनि महर्जनलाई असजिलो पर्न थालेको बुझिएको छ । संघीय मामिला मन्त्रालयमा रजगज गर्ने कर्मचारीहरूसंगको समन्वय प्रभावकारी भएकै कारण वीरेन्द्र भारतीले मेयरको स्पिरिट समेट्न नसकेको गुनासो आउन लागेको छ । भारतीले आफ्नै शैली चलाउन कर्मचारीलाई प्रभाव पार्न खोजेको सूचना पाएका महर्जनले सबै कर्मचारीले मलाई अपडेट गराउने गर्नुभएको छ भन्दै कार्यपालिका बैठकमा सांकेतिक ढंगले चेतावनी दिएका छन् ।
महर्जनले जश पाउँदै आएका विषयहरूमा पनि पछिल्लो समय नगरपालिकाभित्रको आन्तरिक सरुवा तथा कर्मचारीको समन्वय अभावका कारण परिणाम प्रभावकारी नआएको गुनासो बढ्न थालेको छ । स्थानीय शैक्षिक क्रियाकलापका सम्बन्धमा महर्जनले लिएको सोच र कर्मचारी टीमको कार्यशैलीबीच समन्वय नभएका कारण मातृ भाषाको शैक्षिक कार्यक्रमलगायत अन्योल बढेको छ भने नगर प्रहरी बल छनौटलगायतका विषयमा पनि समन्वय फितलो भएको कार्यपालिकामै देखिने गरेको वडाध्यक्षहरू बताउँछन् ।
टिप्पणीहरू