आश्वासन पोल्याण्डको, नियत ठगी

आश्वासन पोल्याण्डको, नियत ठगी

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने नाममा ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेका प्रदिप बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

भक्तपुरको सूर्यविनायक बस्ने धनकुटाका २५ वर्षीय बुढाथोकीले वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने आश्वासन दिएका थिए ।  

पोल्याण्ड जान प्रतिव्यक्ति साढे सात लाख लाग्ने र मासिक एक लाख २० हजारभन्दा बढी कमाइ हुने आश्वासनमा पीडितबाट पटकपटक गरी एक लाख ८० हजार रुपैयाँ उठाएपछि उनी फरार भएका थिए । 

आफु ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनी फेला परेका हुन् । थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू