जीबी र रविको शंकास्पद सहकार्य

जीबी र रविको शंकास्पद सहकार्य
सुन्नुहोस्

ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र रवि लामिछानेको सम्बन्धबारे टिप्पणी गर्दै पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले यो विषय एकदमै शंकास्पद रहेको बताएका छन् । सहकारीले ऐनविपरीत विभिन्न सहायक कम्पनीमार्फत् कर्जा लगानी गरेको पाइएकोले थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । सूर्यदर्शनमा १८ हजार बचतकर्ताको पैसा फसेको र बचतकर्ताहरूले एक अर्ब ३१ करोड रूपैयाँको मागदाबी गरेको उनले जानकारी दिए । 

‘सो सहकारीमा एकदमै धेरै बेथिथि पाइयो । बचतकर्ताको रकम जथाभावी कर्जा लगानी गरिएको रहेछ । नभएको कम्पनी खडा गरेर पनि कर्जा प्रवाह गरिएको पाइयो’, उनले भने, ‘२०६८ सालमा दर्ता भएको संस्था हो । संस्थाको कूल पुँजी एक अर्ब ३५ करोड छ, मागदाबी भने एक अर्ब ३१ करोड पुगिसक्यो । सहकारीको सिष्टममा रवि लामिछानेको नाममा कर्जा प्रवाह भएर पेश्की फस्र्याेट भएको देखिन्छ । यो एकदमै शंकास्पद छ ।’ यता, जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी श्रवणकुमार बिकले यसमा अनुसन्धान भइरहेको बताए । पीडित बचतकर्ताले पुस ८ गते रविलाई पोखरामा भेटेर ज्ञापनपत्रसमेत बुझाएका थिए । लामो प्रयत्नपछि बल्लतल्ल भेट्ने मौका पाएका पीडितले उनलाई ‘प्याकप्याकी’ बनाएका थिए । उनकै पहलमा सहकारीको पैसा लगेर टेलिभिजन खोलेको र टेलिभिजन पनि बन्द हुने अवस्थामा पुगेको भन्दै पीडितहरूले उनलाई च्यापेका हुन् । उनीहरूले सोधे, ‘ग्यालेक्सी टेलिभिजन खोल्दा अध्यक्ष जीबी राईले लगानी गरेको होइन नि ! त्यो त जनताको पैसा हो । बरु जीबीले त्यो पैसा रवि लामिछाने ब्राण्डलाई लगानी गरेको हो । त्यसैले जनताको पैसा संरक्षण गर्ने दायित्व तपाईंको पनि हुनुपर्ने होइन र !’

यतिबेला बचतकर्ताहरू लामिछानेमाथि खनिएका छन् । यद्यपि, उनले भने सहकारीसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका छन् । जुन कुरा बचतकर्ता स्वीकार्न तयार छैनन् । नेटवर्किङ धन्दामा रमाइरहेका जीबीलाई आमसञ्चारको दुनियाँमा ल्याउने उनी नै हुन् । न्यूज २४ मा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनले उक्त कार्यक्रम चटक्कै छोडेर जीबीहरूसँग ग्यालेक्सी फोर–के टेलिभिजनको घोषणा गरेका थिए । ग्यालेक्सी टेलिभिजनको उद्घाटनदेखि लिएर हरेक कार्यक्रममा उनी नै सहभागी हुन्थे । ग्यालेक्सीको प्रबन्ध निर्देशक छोडेर राजनीतिमा होमिए । उनी गृहमन्त्री हुँदा सबैभन्दा बढी रमाउने जीबी अहिले लुकेर बसेका छन् । रम्तेल कारागारमा छन् । सामान्य ‘इस्यु’ लाई बढाइचढाई गरेर ठूलो बनाउन पछि नपर्ने उनले आफ्ना पार्टनर फरार रहँदाभने चुइँक्कसमेत बोलेका छैनन् । जीबीले हजारौं बचतकर्तालाई रुवाएको विषयमा उनी मौन बस्नुले नै ‘दालमा केही कालो’ भएको संकेत गरेकै छ ।
 

टिप्पणीहरू