गाँजा मिसाएको केक अनलाइनबाट बिक्री, घरबाटै समातिए आरोपी

गाँजा मिसाएको केक अनलाइनबाट बिक्री, घरबाटै समातिए आरोपी

गाँजा मिसाई केक तयार पारेर अनलाइनमार्फत बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आज काठमाडौंको घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई समातेको हो । मानन्धरले विगत एक वर्षदेखि सामाजिक सञ्जालमा अकाउन्ट बनाएर गाँजा प्रयोग गरी बनाएको केक बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई घट्टेकुलस्थित कोठाबाट नियन्त्रणमा लिई तलासी गर्दा गाँजाको धुलो १२१ ग्राम,  तयारी अवस्थाको केकको झोल १७८ ग्राम, डिजिटल तराजु १ थान, ईलेक्ट्रिक ओभन १ थान, ग्लोबल आईएमई बैंकको एटिएमलगायत बरामद भएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित मानन्धरले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरीमार्फत आफ्नो अवैध कारोवार सञ्चालन गरेको खुलेको छ ।

टिप्पणीहरू