सेनामा साह्रै नै षड्यन्त्र

सेनामा साह्रै नै षड्यन्त्र
सुन्नुहोस्

‘काम गर्ने कालु, मकै खाने भालु’ को अवस्था बनेसँगै सेनाका होनहार अफिसरहरूले प्राप्त विदेश मिशनसमेत हापेर जागिर छाड्न थालेका छन् । 

उपसेनानी विवेक कोइराला यसैमध्येका हुन् जसले गरिखानेलाई नेपालमा बस्ने वातावरण भएन भन्दै भर्खरै राजीनामा दिए । शान्ति सेनाको मिसनमा जानका लागि पाँचखाल तालिम केन्द्र पुगिसकेका श्री कालिदल गणमा कार्यरत ब्याच नम्बर ७४४५ भएका कोइरालाले मन दुखाउँदै जागिर छाडेका हुन् । 

इञ्जिनियरसमेत रहेका उनले हाल प्रचलितभन्दा अलि परसम्म मार हान्ने क्षमताको ८१ इञ्च रकेट मोर्टार प्लटर बनाएका थिए । उनले आफ्नो यो पौरखबारे विभागलाई जानकारी गराए । कर्णेलले हेर्नका लागि मागेपछि दिए पनि तर त्यो काम आफूले डिजाइन गरेको भन्दै कर्णेलले आफ्नै निम्ति मेडल सिफारिस गराए ।

परिवार स्रोत भन्छ, ‘त्यो कुरा थाहा पाएर उनी निकै निरास बने । मिसनका लागि पाँचखाल गइसके पनि राजीनामा दिन पछि परेनन् ।’ यता, दुई तारे जर्नेल (उपरथी) सन्तोष ढकालले विवेककै ५८ बेसिकलाई मात्रै च्यापेपछि सोभन्दा अगाडिका अधिकृतहरूले व्यापक असन्तुष्टि जनाएको बुझिएको छ।भारत, बंगलादेशलगायत मुलुक जानेमा हरहमेशा उनले काखी च्यापेकाहरू मात्र परेपछि २० जना लप्टन, क्याप्टेन जागिर छाड्ने तरखरमा छन् । यसबीच जंगी अड्डाले जुनियर अधिकृतको मर्म नबुझी अरुको मेहनतमा लामो हात गर्ने हाकिमको कुरा सुन्दै पुस १३ गते कोइरालाको राजीनामा स्वीकृत गरेको छ । 

पुस १५ गतेदेखि लागू हुनेगरी उपदानमा उनको राजीनामा स्वीकृत भएको हो । यसरी नै नम्बर २ सैन्य तालिम केन्द्रका सेनानी कमलबहादुर कार्की, श्री रणचण्डी गणका सेनानी बालकृष्ण ओली, श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणका सेनानी राजेन्द्र पाण्डे, श्री कालिबहादुर गणका सेनानी युवराज श्रीसको पनि राजीनामा स्वीकृत भएको बुझिएको छ । ब्याच नम्बर क्रमशः ३५६८, ५६५९, ५६६४, ५७९७ भएका चारै जना सेनानीको निवृत्तिभरणमा राजीनामा स्वीकृत भएको हो । 

घर गएका सेनानी बेपत्ता यसबीच, नेपाली सेनाका एक जना मेजर बेपत्ता भएका छन् । यसअघि तल्लो दर्जाका कर्मचारी भाग्ने गरेकोमा अहिले भने मेजर नै फरार भएका हुन् । घर बिदामा गएका नवीन श्रेष्ठ दोलालघाट बस्ने तेजबहादुरका नाति एवं पोष्टबहादुरका छोरा हुन् जो असोज १७ गतेदेखि बिदामा थिए । मंसिर २८ गतेसम्म बिदामा रहेका उनी २९ गते हाजिर हुनुपर्ने थियो । तर, ब्याच नम्बर ५६०८ भएका उनले सेनाबाट जारी भएको ‘डिजिटल स्मार्ट आइडी कार्ड’ समेत आफैँसँग लगेको पाइएको छ ।

 

टिप्पणीहरू