राप्रपाको कविता प्रतियोगितामा रुकुमका उमेश विजेता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा आयोजना गरेको कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।
पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा लेखिएको कविता प्रतियोगिताको विजेता घोषणा गरिएको हो । देश तथा विदेशबाट प्राप्त ३०५ वटा कवितामध्ये ६ वटा छनौटमा परेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वविमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशीको निर्णायक मण्डलले कविता छनौट गरेको उनले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार रुकुम पश्चिमका उमेश पुन मगर प्रथम भएका छन् । कपिलवस्तुका सुभाष खनाल दोस्रो र संखुवासभाका सिजन श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।
प्रोत्साहन पुरस्कार पाउनेमा क्रमशः दाङका अविरल डिसी, म्याग्दीकी निरुता बुढाथोकी, लमजुङका प्रविण अधिकारी रहेका छन् । राप्रपाले प्रतियोगितामा प्रथम हुने कविलाई एक लाख, द्धितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र अन्य तीन जनालाई १०–१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिने जनाएको छ ।
गत मंसिर २७ गते सूचना जारी गर्दै राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा युवा कविता प्रतियोगिता गर्ने घोषणा गरेको थियो ।
४० वर्ष ननाघेका युवालाई पुस १५ गतेभित्र पाँच सय शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन आह्वान गरिएको थियो । पुरस्कृत कविताहरु पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरुले वाचन गर्नुपर्नेछ ।
टिप्पणीहरू