विदेशको आश देखाएर ठगी गर्ने क्रम रोकिएन

विदेशको आश देखाएर ठगी गर्ने क्रम रोकिएन

वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी धन्दा चलाउनेहरु धमाधम प्रहरीको फन्दामा परिरहेका बेला थप तीन जना समातिएका छन् । 

आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्ने पुजा श्रेष्ठ, विन्दालाल साह कानु, विकासकुमार घले र संजय लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिएको जनाएको छ । 

काठमाडौंको तार्केश्वर नगरपालिका–८ जंरखु बस्ने दोलखाकी ३० वर्षीया पुजाले वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ ।

पोल्याण्ड जान प्रतिव्यक्ति साढे आठ लाख लाग्ने र मासिक डेढ लाख आम्दानी हुने आश्वासनमा पीडितबाट पटकपटक गरी दुई लाख १५ हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । 

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने रौतहटका ३२ वर्षे विन्दलालले पनि मलेसियामा आकर्षक तलब सुविधासहितको रोजगारी लगाइदिने प्रलोभनमा ठगेको प्रहरीले जनाएको छ । 

यता, ललितपुरको च्यासल बस्दै आएका उदयपुरका ४२ वर्षे विकासकुमार घले र काठमाडौंको सिनामंगल शम्भुमार्ग बस्ने ३९ वर्षे संजयले टोकियो ओभरसिस नामक संस्था दर्ता गरी विदेश पठाइदिने नाममा ठगेको पाइएको छ । 

उक्त संस्थामार्फत वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा पीडितहरुबाट पटक-पटक गरी १३ लाख ५० हजार रुपैयाँ उठाएपछि उनीहरु फरार भएका थिए । 

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरु उजुरी लिएर वैदेशिक रोजगार विभाग पुगेका थिए हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनीहरु पक्राउ परेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू