केपी ओलीप्रति माधव नेपालको गुनासो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा चुनावमा आफ्नो पार्टीलाई शून्य सीट गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा खेलेको खुलासा गर्नुभएको छ ।
पार्टीको विद्यार्थी विशेष कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ओलीले त्यस्तो कुरा गरेको खुलाउनु भएको हो । नेपालले भन्नुभयो, 'प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्,कांग्रेसलाई १० सीट दिनुस्, तपाईं ५ सीट लिनुस् र एकीकृत समाजवादीलाई जिरो सीट दिनुस् भनेछन् ।'
केपी ओलीले आफ्नो दलको अस्तित्व स्वीकार गर्न अझै नसकेको जनाउँदै उहाँले यस्तै प्रवृत्तिले वामपन्थी एकता सम्भव नभएको पनि उल्लेख गर्नुभयो । भन्नुभयो, 'अझै पनि उनको मति सप्रिएको छैन । त्यसो हुनाले सबै कम्युनिष्ट मिलुन् भन्ने चाहना राखेर मात्र हुँदैन । मति पनि सप्रिएको हुनुपर्यो ।'
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको लोभमा परेपछि गत वर्ष पुस १० गते गठबन्धन टुटाउन ओली सफल भएको सन्दर्भ निकाल्दै अध्यक्ष नेपालले अहिले राष्ट्रिय सभाको सीट बाँडफाँटमा पनि काँग्रेसमा स्वार्थ जागेर आएको बताउनु भयो । त्यसबेला शेरबहादुर र प्रचण्ड दुबैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर ओलीले दोहोरो खेल खेलेको र नयाँ गठबन्धन बनेपछि आफ्नो दललाई निषेध गरेको गुनासो गर्नुभयो ।
प्रधानमन्त्रीमाथि ओलीले हैकम जमाउन थालेपछि प्रचण्डले अपमान महसुस गरेको र पुरानै गठबन्धनमा फर्किएको पनि अध्यक्ष नेपालको भनाई छ ।
टिप्पणीहरू