भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौताको विवरण मागियो

भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौताको विवरण मागियो

संसदीय समितिले नेपालका विभिन्न परियोजनामा भारतले सोझै २० करोडसमको लगानी गर्न पाउनेगरी भएको सम्झौताको पूर्ण विवरण मागेको छ । 

आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपछि सभापति विमला सुवेदीले सात दिनभित्र सम्झौताहरुको पूर्ण विवरण समितिको सचिवालयलाई उपलब्ध गराउन निर्देशन दिएकी हुन् । समितिले नेपाल सरकार पक्ष भइ विभिन्न मुलुकहरु वा संघ संगठनहरुसँग गरेका अन्य सबै  सम्झौताको पनि विवरण दिन सरकारलाई निर्देश गरेको छ । 

त्यसअघि बैठकमा सांसदहरुले भारतले भारतीय दूतावासले २० करोडसम्म सिधै खर्च गर्न पाउने सम्झौताबारे प्रश्न उठाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित बैठकमा सम्झौताको प्रतिलिपि मागिएको थियो । 

अन्तिममा बैठकका निर्णय सुनाउँदै सभापति सुवेदीले भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयलाई उपलब्ध गराउन भनेकी हुन् ।

टिप्पणीहरू