फोटो सार्वजनिक भएपछि ‘गौशाला २६’ साइबर ब्यूरोमा, छानबिन शुरु

फोटो सार्वजनिक भएपछि ‘गौशाला २६’ साइबर ब्यूरोमा, छानबिन शुरु
सुन्नुहोस्

क्रिकेटर सन्दिप लामिछानेबाट पीडित किशोरी ‘गौशाला २६’ को तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोले छानबिन अघि बढाएको छ । 

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उनका समर्थकहरुले पीडितको तस्वीर सार्वजनिक गरेका थिए । त्यसविरुद्ध ब्यूरोले अनुसन्धान थालेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार पीडित ‘गौशाला २६’ ले आज उजुरी दिएकी छिन् । उजुरीपश्चात् अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘पीडितले आज उजुरी दिनुभएको छ । ब्यूरोले यसबारे अनुसन्धान गरिरहेको छ’, उनले भने । 

गत पुस १३ गते जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले लामिछानेलाई दोषी ठहर गरेको थियो । हिजो अदालतले उनलाई आठ वर्षसम्म कैद, तीन लाख रुपैयाँ जरिवाना र दुई लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमार्फत पीडितको वास्तविक तस्वीर सार्वजनिक गरेका हुन् । 

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पीडितको तस्वीर सार्वजनिक गर्ने कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको प्रवास नेपाली सम्पर्क विभाग, जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई रास्वपाले पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

टिप्पणीहरू