केपी ओलीले आफ्नो पार्टी ध्वस्त पार्न खोजेको माधव नेपालको आरोप
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र भैरहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो षड्यन्त्र गरेको उहाँको भनाई छ । ओलीको नाम उल्लेख नगरि अध्यक्ष नेपाललेआफ्नो पार्टी र सत्तारुढ गठबन्धनलाई सिधाउने षड्यन्त्र भैरहेको जनाउँदै त्यसमा साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताउनुभयो ।
‘हामीले देखिरहेका छौं– हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन’, पार्टीनिकट भुतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका बिरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताउनु भएको छ । त्यसक्रममा उहाँले गठबन्धनको भर परेर ढुक्क नहुन नेता-कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनको सीट भागबण्डामा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शेरबहादुर देउवासँग मिलेर एकीकृत समाजवादीलाई शून्य गराउन खोजेको अध्यक्ष नेपालले केही दिनअघि खुलासा गर्नुभएको थियो । त्यसलाई उहाँले आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेको अर्थमा लिँदै गठबन्धन टुटाउने प्रयास भन्नुभएको थियो ।
टिप्पणीहरू