राप्रपा चियापान : एमाले अध्यक्षको धन्यवाद, पृथ्वीनारायणलाई पेवा नठान्न रविको सुझाव

राप्रपा चियापान : एमाले अध्यक्षको धन्यवाद, पृथ्वीनारायणलाई पेवा नठान्न रविको सुझाव
सुन्नुहोस्

राजतन्त्र फर्काउन फागुनदेखि निर्णायक आन्दोलनमा जाने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रवादी शीर्ष नेताहरुलाई एक ठाउँमा भेला पारेर राजनीतिक कोर्स करेक्सन गर्नुपर्नेमा जोड दिएको छ । 

पृथ्वीजयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहमा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रधानमन्त्रीसहित प्रमुख पार्टीका शीर्ष नेताहरुकै सामुन्ने कोर्स करेक्सन गराएरै छाड्ने दाबीसमेत गरे । अहिलेको राजनीतिक व्यवस्थाले मुलुकको समस्या समाधान नगर्ने भएकाले विकल्प अनिवार्य बनेको उनको जिकिर छ । 

त्यसक्रममा लिङ्गदेनले राप्रपाकै नेतृत्वमा जनदबाव सृजना गरेर सबै पार्टीलाई वैकल्पिक व्यवस्थामा जान बाध्य पार्ने पनि बताए । ‘हामीले राजा बोकेर पछाडि फर्किने कुरा गरेको होइन, पुरानो व्यवस्थामा जाने भनेको पनि होइन’, लिङ्गदेनले भने, ’अब नयाँ व्यवस्थामा जानु पर्यो । जसको लागि ठूला दलहरुले कोर्स करेक्सन गर्नुपर्यो ।’ 

भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी थिए । कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधनसमेत गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनुले सकारात्मक संदेश गएको बताउनुभयो । नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ताको जन्म जयन्तीमा कार्यक्रम गरेकामा उहाँले राप्रपालाई धन्यवादसमेत दिनुभयो ।
‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ’, अध्यक्ष ओलीको भनाई छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्न नहुनेमा जोड दिए । देशलाई एक ढिक्का बनाई आज नेपाली भनेर गौरव गर्नसक्ने अवस्था पृथ्वीनारायण शाहकै कारण बनेकाले राजनीतिभन्दा माथि राखेर सबैले सम्मान गर्नुपर्ने उनको धारणा छ । 

‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले पनि हाम्रो होइन भन्नुभएन’, रविले भने, ’सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ ।’

टिप्पणीहरू