अबको दुई महिनामा चामलको हाहाकार

अबको दुई महिनामा चामलको हाहाकार

फलाउँछौ मोटा चामल, खोज्छौ मसिना ! यही मसिना चामलमा गत साउनदेखि भारतले प्रतिबन्ध लगाइदिएको छ । मोटा चामलमा पनि २० प्रतिशत शुल्क (महसुल) लगाइदिँदा व्यापारीले उताबाट चामल ल्याउन छाडेको महिनौँ भयो ।

भारतमा २० र नेपालमा ५ प्रतिशत महसुल तिरेर धान आयात गर्न नसकिने व्यापारी बताउँछन् । यही स्थिति लम्बिए अबको दुई महिनापछि नै खाद्य संकट शुरु हुने भनी चिन्ता पोख्दै छन्, धान मिलवालाहरू । 

नेपालमा वार्षिक माग ७५ लाख टन चामलको छ, तर कृषि प्रधान भनिए पनि कुर्सी प्रधान बन्दै गएको देशमा उत्पादन हुन्छ ५० देखि ५५ लाख टन मात्र । झण्डै २० लाख चामलका लागि भारतकै भर पर्नुपर्छ । ०७९÷८० मा भारतबाट ५ दशमलव ५ लाख टन चामल आएको थियो । गत वर्ष शून्य भन्सारमा भित्रिएको चामलमा यस पटक २० प्रतिशत थपिँदा व्यापारीले चामल आयात गर्न मानिरहेका छैनन् ।

उद्योगीका अनुसार अब नेपाललाई (दुई महिना) फागुनसम्ममात्र धान्ने धान छ । राज्यले समयमै यसको निराकरण नखोज्ने हो भने अवैध आयात भएको चामलले प्रश्रय पाउने र कालोबजारी मौलाउने चिन्ता छ । यही समस्या बोकेर गत साता ठूला मिल उद्यमीले उद्योग सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटे । तर, व्यापारीलाई धान, मन्त्रीलाई भने तत्काल चामल चाहिँदा लफडा निस्किरहेको छ । व्यापारीको स्वार्थचाहिँ दक्षिणबाट धान ल्याउन पाए आफ्नो उद्योग चल्थ्यो भन्ने छ ।

अर्काेतिर दक्षिणी छिमेकीले खाए खाए, नखाए घिच्को शैलीमा व्यापारीलाई कठिनाइ पारिरहेको छ । भारतले ९५ हजार टन नन बास्मती ह्वाइट राइस दिने निर्णय गरेको छ । जसमध्ये ३० हजार टन भारत सरकारले दिने र बाँकी ६५ हजार टन उताको सहकारीसित खरिद गरेर ल्याउनुपर्ने छ । बढीमा एउटाले ५ हजार टन चामल मात्र आयात गर्न पाउनेछ । एकातिर अतिरिक्त ट्याक्स, अर्काेतिर खरिद प्रक्रिया झण्झटिलो र लम्बेतान ! त्यो पनि एडभान्स र क्यास पेमेन्ट गर्नुपर्ने । खासमा नेपाल मोटा चामलका निम्ति लगभग आत्मनिर्भर छ, नेपालीको भान्सामा सबैभन्दा बढी माग नै जिरा मसिनो चामलको हो । 

भारतले चामल रोक्दा नेपालमा दुई महिनापछि खाद्य संकट चुलिने र कालोबजारी मौलाउने समस्या बेसाउन पुगेका व्यापारी मन्त्रीका कुरा सुनेपछि चकित भएर फर्किएका छन् । आधा दर्जन व्यापारीको टोलीलाई घुमाउरो पारामा भन्सार छलेर, कालोबजारी गरेर ल्याउनुहोस्, म गृह मन्त्रालय र आइजिपीलाई भनिदिन्छु भन्ने जवाफ फर्काइएको एक व्यवसायीले जनआस्थालाई बताए । 

उता, सरकार निरीह बनेको मौका विराटनगरका ट्रेड र साना मिलले उठाइरहेका छन् । सो नाकाबाट खुलेआम साइकलमा चामल तस्करी भइरहेको छ । दैनिक ६ देखि सात सय साइकलबाट ६ हजारभन्दा बढी बोरा चामल तस्करी भइरहेको व्यापारीहरु बताउँछन् ।

८०÷८१ मा नेपालले ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन गरेको कृषि मन्त्रालयले जनाएको छ । ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षेधान र ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान फलेको हो । यो हिसाबले मागअनुसार, झण्डै १८ लाख टन धानका लागि भारतकै भर पर्नुपर्ने स्थिति छ ।

 

टिप्पणीहरू