राष्ट्रियसभा निर्वाचनका लागि पर्सिदेखि आचारसंहिता लागू

राष्ट्रियसभा निर्वाचनका लागि पर्सिदेखि आचारसंहिता लागू

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले मंगलबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंगलबारदेखि सबै व्यक्ति, निकाय तथा अधिकारीमाथि आचारसंहिता लागू हुनेछ । त्यस्तै, सो अवधिभर कुनै सार्वजनिक स्रोतसाधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष–विपक्षमा हुने गरी प्रयोग गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।

सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार नगर्न–नगराउन आयोगले आग्रह गरेको छ । 

आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्रीवितरण वा प्रदर्शन गर्न–गराउनसमेत रोक लगाएको छ । निर्वाचनको स्वच्छता वा निष्पक्षता प्रभावित हुने गरी कुनै कार्य नगर्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू