टोपबहादुर जेल परेपछि एमालेमा 'अलपत्र' उज्ज्वल माओवादीमा फर्किए

सुन्नुहोस्

नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्वसांसद चन्द्र बहादुर खड्का 'उज्ज्वल' माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

आज अर्घाखाँचीमा आयोजित माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट खादा लगाएर उनी पुरानै घर फर्किएका हुन् । जनयुद्धकालदेखि नै माओवादीमा सक्रिय रहेका खड्का पछिल्लो समय एमालेमा थिए । 

नक्कली भूटानी शरणार्थी प्रकरणमा जेल परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी निकट उनले तत्कालिन नेकपाको विभाजनपछि एमाले रोजेका थिए । एमालेमा माओवादी पृष्ठभूमिका नेताहरुले उचित जिम्मेवारी नपाएको चर्चा भैरहँदा रायमाझीसमेत जेल परेपछि खड्का राजनीतिक रुपले अलपत्रजस्तै थिए । 

पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै खड्काले एमालेमा रहेका सबै पूर्वमाओवादीका नेता-कार्यकर्तालाई पुरानै घर फर्कन आह्वानसमेत गरेका छन् । 'माओवादी केन्द्रबाट प्रवेश गर्नुभएका नेकपा एमालेमा रहनुभएका सम्पूर्ण साथीहरु, देशभक्त, क्रान्तिकारी साथीहरुलाई पनि नेकपा माओवादी केन्द्रमा गोलवद्ध हुन हार्दिक अपिल गर्दछु', उनले भने ।  

भविष्यमा ठूलो संख्यामा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा गोलबद्ध हुने उनको दावी छ ।
 

टिप्पणीहरू