प्रधानमन्त्रीले उद्घाटन गरेपछि काठमाडौंका मेयरको प्रतिक्रिया : ‘राजनीतिक स्टण्ट मात्र’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उचित प्राविधिक अध्ययनबिना मेलम्चीको पानी काठमाडौं ल्याउनु राजनीतिक स्टण्ट मात्र भएको बताएका छन् ।
मेलम्ची खानेपानीको पाँचौं पटक उद्घाटनपश्चात् मेयर बालेनले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै राजनीतिक लाभका लागि अस्थायी परिणाम ल्याउनु पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग हुनु बताएका हुन् ।
‘प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो,’ उनले लेखेका छन् ।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौं झार्ने किर्तिमानका लागि उद्घाटन गरेको तर प्राविधिक पक्षलाई बेवास्ता गरेको उल्लेख गर्दै उनले त्यसपछि एउटै परियोजनको बारम्बार उद्घाटनले विश्वकिर्तिमान नै कायम गरेको व्यंग्य समेत गरेका छन् ।
मेयर बालेनले अहिले पनि मेलम्चीको मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको र त्यो झरेर कुनै पनि बेला मुहान थुनिन सक्ने बताएका छन् । लेखेका छन्, ‘बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैंछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौं समय र अर्कोको लागत लाग्न सक्छ ।’
छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिनुभन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नुपर्ने संरचना बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेको उनको ठम्याई छ ।
टिप्पणीहरू