विदेश पठाइदिने प्रलोभनमा लाखौंको ठगी, महिलासमेत संलग्न

विदेश पठाइदिने प्रलोभनमा लाखौंको ठगी, महिलासमेत संलग्न
सुन्नुहोस्

वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक र माल्टा पठाइदिने नाममा ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका विकास राई र मायादेवी रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडा बस्दै आएका मोरङका ३९ वर्षीय विकासले वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने प्रलोभन दिएका थिए । त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै सर्वसाधारणलाई ठगेको खुल्न आएको हो । 

चेक रिपब्लिक जान प्रतिव्यक्ति १३ लाख लाग्ने र मासिक एक लाख ८० हजार तलब हुने आश्वासनमा पीडितहरुबाट एक लाख ८० हजार रुपैयाँ उठाएपछि उनी फरार भएका थिए । 

यता, राजधानीको स्वयम्भू बस्ने पाल्पाकी ३० वर्षीया मायादेवीले पनि सोही प्रलोभनमा ठगेको पाइएको छ । माल्टा जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक डेढ लाख आम्दानी हुने होटलमा काम लगाइदिने भन्दै पीडितहरुबाट पटकपटक गरी ४३ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । 

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारे । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनीहरु समातिएको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू