किन फाप्दैन देउवालाई पर्वत ?
नेपाली कांग्रेस पर्वतले यही माघ ८ गते केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलनको तयारी गरेको छ । तर,देउवा निकटमा संशय उब्जिन थालेको छ । पर्वत आउँदा होस् वा पर्वतको विभिन्न कार्यक्रममा प्रविधिमार्फत सम्बोधन गर्दा होस् देउवालाई नोक्सान नै हुने गरेको छ ।
काँग्रेस सभापति देउवा तेस्रो पटक प्रधानमन्त्री भएका बेला पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको पहिलो गुप्तेश्वर महोत्सव उद्घाटन गर्न सर्बप्रथम पर्वत आएका थिए । त्यतिबेला महोत्सव उद्घाटन गरेर काठमाण्डौ नपुग्दै तत्कालिन राजाबाट च्युत भए । दोस्रो पटक पर्वतका तत्कालिन सभापति नवराज गुरुङले ०६६ सालमा पर्वत काँग्रेसको भवन शिलान्यासका लागि बोलाए । तत्कालिन सहसभापति एवम् वर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी नेतृत्वको टोली देउवाको शिलान्यास कार्यक्रम बहिष्कार अभियानमा लाग्यो ।
त्यस्तै देउवाले ०७८ सालमा पर्वत काँग्रेसको भवन प्रविधिमार्फत उद्घाटन गरे । तर भवन निर्माण गर्न आर्थिक, भौतिक,नैतिक रुपमा कस्सिएका नेता कार्यकर्तालाई हिनताबोध हुनेगरी भवन निर्माणको हिसावकिताव सार्वजनिक नगरी केन्द्रीय सभापति देउवालाई विवादमा ल्याउने काम गरियो । भवन उद्घाटन केन्द्रीय सभापतिले गरेपनि उक्त भवनको आयब्यय सार्वजनिक नगरेको भन्दै अहिले विवाद आएको छ ।
केन्द्रीय सदस्य जोशी भवन निर्माण समितिको संयोजक भए पनि पार्टीकै जिम्मेवार पदाधिकारीले पटक–पटक पार्टीको हिसाव किताव सार्वजनिक गर्न माग गर्दै आएका छन् । त्यसैले यही माघ ८ गते देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन गर्ने भनिएपनि पुनः देउवा कुन विवादमा पर्ने हुन् भनेर चर्चा सुरु भएको छ ।
टिप्पणीहरू