राजधानीमा नक्कली मदिरा छ्याप्छ्याप्ती

राजधानीमा नक्कली मदिरा छ्याप्छ्याप्ती

राजधानीमा नक्कली मदिरा उत्पादन र बिक्री गर्ने गिरोह फेला परेको छ । गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरेर कालोबजारी गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्रेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी गरेको पाइएपछि प्रहरीले गिरोहको खोजतलास गरेको बताइन्छ ।

पक्राउ परेकामा कोटेश्वर बस्ने सिन्धुलीका ३६ वर्षे विनोदकुमार कार्की र ४० वर्षे लेखविक्रम थापा, मूलपानी बस्नेहरु रामेछापका २८ वर्षे मनोज खत्री, २३ वर्षे महेश खत्री र २० वर्षे मनिस खत्री, सिन्धुलीका २८ वर्षे गौरव तामाङ, सिन्धुपाल्चोकका २७ वर्षे मोहन खड्का, १८ वर्षे किशोर र कागेश्वरी मनोहरा बस्ने ३५ वर्षे सुमन नगरकोटी हुन् ।

 

कागेश्वरी मनोहरा नगरपालिका–५, थलिस्थित विनोदले भाडामा लिएर बसेको कोठा खोजतलास गर्ने क्रममा नक्कली खुकुरी रकम, गोल्डेन ओक, फाईटर, सिग्रेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरा, मदिरा बनाउन प्रयोग गर्ने सामान, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीको खाली बोतल, राजस्व अन्तशुल्कको स्टिकरहरु, लेवलिङ एवम् प्याकेजिङ गर्न प्रयोग गरिने सामानलगायत विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उनीहरुले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्नुका साथै अन्तरिक राजश्वको अन्तशुल्कका नक्कली स्किटर प्रयोग गरेको पाइएको छ । उत्पादित नक्कली मदिरा प्रचलित बजार दरभाउभन्दा कम मूल्यमा बेचबिखन गरेका थिए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू