दैनिक औसत १९ जनाले ज्यान गुमाउँदै, बिग्रँदो आर्थिक व्यवहार प्रमुख कारण

दैनिक औसत १९ जनाले ज्यान गुमाउँदै, बिग्रँदो आर्थिक व्यवहार प्रमुख कारण
सुन्नुहोस्

तीन महिनाअघि सुनसरीमा नेपाल प्रहरीका एक जवानले टाउकोमा गोली हानेर आत्महत्या गरे । कोशी गाउँपालिका–४, कोशी कटानमा कार्यरत सप्तरीको रुपनी नगरपालिका–२ का प्रहरी जवान अमितेश मण्डलले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन् । 

कोही नभएको बेलामा सुत्ने कोठामा राति पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको थियो । मण्डलले घरायसी तनावका कारण यस्तो कदम चालेको अनुसन्धानबाट खुलेको छ । 

भक्तपुर नगरपालिका–१, भावाचोक बस्दै आएका ४४ वर्षीय ज्ञानकाजी मानन्धरले गत मंसिर ६ गते आफ्नै घरको तेस्रो तल्लाबाट हामफालेर ज्यान दिए । पछिल्लो एक दशकदेखि डिप्रेसनको औषधि समेत सेवन गर्दै आएका उनले घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन् । 

केही दिनअघि रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मनोजकुमार रानाकी श्रीमतीले आत्महत्या गरिन् । रानाकी श्रीमती देवकलाले रुखमा झुण्डिएर ज्यान दिएकी हुन् । उनले आफ्ना चार वर्ष र १९ महिनाको बालबालिकालाई सामुन्ने राखेर तिलोत्तमा नगरपालिका–४ स्थित वनमा पासो लगाएको स्थानीयको भनाइ छ ।  

गत साउन ५ गते कपिलवस्तुमा एक किशोरीले कोठाको पंखामा पासो लगाएर आत्महत्या गरिन् । वाणगंगा नगरपालिका–६, मनोहरापुर बस्दै आएकी १६ वर्षीया विश्मता क्षेत्रीले आत्महत्या गरेकी हुन् । स्थानीय पारिजात इङ्लिश बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत उनले परीक्षा दिएर घर फर्किएपछि आत्महत्या गरेकी थिइन् । 

त्यसैगरी मंसिर ७ गते धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला परे । ३५ वर्षका टीका गुरुङ र उनकी श्रीमती ३६ वर्षकी भीमा र छोरा ११ वर्षीय आयुष मृत भेटिएका हुन् । 

प्रहरीका अनुसार टीका घरभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती र छोरा सुतेको अवस्थामा फेला परेका थिए । टीकाले श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो छ । तीमध्ये माथि उल्लेखित केही प्रतिनिधि घटना मात्रै हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ३३ हजार एक जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । 

गत वर्ष छ हजार ९९३ जनाले आत्महत्या गरेका थिए । त्यसको अघिल्लो वर्ष छ हजार ८३० जनाले त्यसरी ज्यान फालेका हुन् । आर्थिक वर्ष २०७७÷०७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । 

त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा छ हजार २५२ र २०७५÷०७६ मा पाँच हजार ७८५ जनाले आत्महत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ । जसअनुसार आत्महत्याको बाटो रोज्नेमा सबैभन्दा धेरै पुरुष देखिन्छन् । गत वर्ष छ हजार ९९३ जनाले आत्महत्या गरेकामध्ये तीन हजार ९४२ जना पुरुष रहेको पाइएको छ । महिला दुई हजार २५६ जना, बालक २६६ र बालिका ५२९ जना रहेका देखिन्छन् । 

प्रहरीको तथ्याङ्कअनुसार नेपालमा दैनिक औसत १९÷२० जनाले आत्महत्या गरेको पाइन्छ । सबैभन्दा धेरैले आर्थिक व्यवहार बिग्रिएर आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका निमित्त प्रवक्ता दानबहादुर कार्की बताउँछन् । ‘अहिले आत्महत्याको प्रमुख कारण नै आर्थिक व्यवहार बिग्रिनु हो । मानिसले आफ्नो आर्थिक अवस्था बिग्रिएपछि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ,’ उनले भने । 

उनले केही समययता आत्महत्या गर्नेको संख्या बढिरहेको समेत बताए । मानिसलाई असफलता र असफलता बीचको दूरीले समेत आत्महत्याको बाटोतिर लैजाने उनको बुझाइ छ । ‘महत्वाकांक्षा र अपेक्षाअनुसार व्यवसायिक, व्यक्तिगत जीवनमा आत्मसन्तृष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जान्छ, अनि त्यसले आत्महत्याको रुप लिन्छ,’ प्रवक्ता कार्कीले भने। 

त्यस्तै, बेरोजगारी, गरिबी, निराशा, चिन्ता, प्रेममा धोका, पारिवारिक बेमेललगायत कारण पनि मानिसले आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।  आत्महत्या गर्ने सोच बनाएका व्यक्तिलाई समयमै मनोपरामर्श केन्द्र, परिवारको निगरानीमा राखेर सहयोग गरेमा आत्महत्या कम हुने विशेषज्ञहरुको सुुझाव छ ।

आत्महत्या गर्नेको संख्या घटाउन तथा नियन्त्रण गर्न नेपाल प्रहरीले समयसमयमा विभिन्न प्रकारका कार्यक्रम, सचेतना वा जनचेतना अभिवृद्धि गर्दै आएको प्रवक्ता कार्कीको दाबी छ । उनले आत्महत्या निरुत्साहनका लागि स्थानीय तहहरुले पनि आवश्यक कदम चाल्न जरुरी रहेको जनाए । 

‘आत्महत्या नियन्त्रण गर्न नेपाल प्रहरीको केन्द्रीय, प्रदेश र स्थानीय निकायले आआफ्नो तर्फबाट काम गर्दै आइरहेको छ । तर, स्थानीय तहहरुले समेत आत्महत्या कम गर्न आवश्यक काम गर्नुपर्ने देखिन्छ । आफ्नो कार्यक्षेत्रभित्र कति आत्महत्याका घटना घटेका छन् ? र, त्यो आत्महत्या के–कस्तो कारणले भयो ? भनेर अध्ययन गरी निवारणका उपायतिर स्थानीय तहहरु लाग्न जरुरी छ,’ उनी भन्छन् ।
 

टिप्पणीहरू