युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको छलफल
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गर्नुभएको छ ।
हिजो साँझ कम्पाला ओर्लनुभएका प्रधानमन्त्रीले आज त्यहाँका नेपालीहरूसँग अन्तरक्रिया गर्नुभएको हो । सोक्रममा उहाँले आफू पहिलो पटक युगाण्डा भ्रमण गरेको जानकारी गराउँदै नेपाली समुदायसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
'युगाण्डा मेरो पहिलो भ्रमण हो । तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ', उहाँले भन्नुभयो ।
अन्तरक्रियाका क्रममा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताउँदै विदेशमा रहेका नेपालीहरू गुनासालाई सरकारले गम्भीरताका साथ लिने प्रतिवद्धता जनाउनुभएको थियो ।
'हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ', उहाँले भन्नुभयो, 'केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ ।'
त्यसअघि युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको जानकारी गराउँदै विगत ३० वर्षदेखि नेपालीहरूले त्यहाँको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको कुरा प्रधानमन्त्रीलाई सुनाइएको थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्या, संरक्षक रमेश कँडेललगायत सहभागी थिए ।
टिप्पणीहरू