घण्टीमा खतराका अनेकौं घण्टी

घण्टीमा खतराका अनेकौं घण्टी
सुन्नुहोस्

जान्नेलाई छान्ने नारा दिएर जनताका असन्तुष्टिको थुप्रोबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र खतराका अनेकन घण्टी बज्न लागेका छन् । पासपोर्ट, नागरिकता, बहुविवाहलगायत अनेकन मुद्दामा विवादित रवि लामिछानेका कारण रास्वपाभित्र शिर उठाउन नि गाह्रो भो भन्ने चर्चा हुन थालेको छ । 

नेकपा एकीकृत समाजवादी त्यागेर रास्वपा प्रवेश गरेकी भरतमोहनकी छोरी लिमा अधिकारीलाई कोषाध्यक्ष बनाएपछि पार्टीभित्रका रैथानेहरूको एउटा समूह नै नेतृत्वप्रति असन्तुष्ट थियो । आ–आफूमा असन्तुष्ट र सभापतिसहितका नेतृत्वसँग पनि असन्तुष्ट केही नेताले यसबीच रास्वपा नेत्री तथा सांसद चन्दा कार्कीको पहलमा एकताबद्ध हुने भन्दै छलफल शुरु गरेका छन् ।

कार्कीको पहलमा शोभिता गौतम र डा. तोसिमा कार्कीबीच सम्बन्ध सुधार र एकताबद्ध हुने सहमति भएको छ । डा. स्वर्णिम वाग्ले र लिमा अधिकारीहरूलाई नवप्रवेशीको फुरफुर भन्दै रैथानेहरू मिलेर पछि आउनेहरूलाई नेत्तृत्वमा जान रोक्नुपर्ने समीक्षा भएको छ ।

तोसिमा आफैँले शोभिताजीलाई मेरो कारण हर्ट भएको छ भने ‘सरी’ भन्दै आफूहरू एक हुन नसकेकाले पाहुनाले फाइदा उठाएका हुन् त्यसैले मिलेर लडौँ भन्ने प्रस्ताव राखेकी छन् । पुल्चोकको रिडी लाउञ्जमा पटक–पटक बसेर वाग्ले र लिमाबाट पार्टी जोगाउन अर्जुनदृष्टि लगाउनुपर्छ भन्दै पहल थालिएपछि पदाधिकारीबीच छलफल गराउने जिम्मा चन्दाले लिएकी छन् । महामन्त्री डा.मुकुल ढकाल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि रविको कार्यशैलीसँग सहमत नभएको तर बाध्यतावश आफूहरू फसिरहेको सुनाउन थालेकाले पदाधिकारीभित्र समेत रैथानेहरू र आगन्तुक भनेर घेरा लगाउने काम शुरु भएको छ । 

ग्यालेक्सी टीभी प्रकरणमा विवादित भएपछि एकपछि अर्को गर्दै रविका आर्थिक अपराधका श्रृंखला बाहिरिएका छन्् । त्यसक्रममा लिमा अधिकारीका श्रीमान सुदीप आचार्य अध्यक्ष रहेको कामना सेवा विकास बैंकबाट पनि ५ करोड रूपैयाँ कर्जा नियमविपरीत लिएको र नियमित नबुझाएका कारण बैंकको दबाब झेल्नभन्दा लिमालाई कोषाध्यक्ष बनाउन रविले पार्टीलाई दुरूपयोेग गरेको निश्कर्ष रास्वपा नेतृहरूले निकालेका छन् । पार्टीमा स्थापनाकालदेखि नै संघर्ष गरेका साथीहरू हुँदाहुँदै अधिकारीलाई कोषाध्यक्ष बनाएपछि तोसिमाले विधि ? भन्दै नेतृत्वलाई सांकेतिक रूपमा सचेत गराएकी थिइन् । जाजरकोटका भूकम्पपीडितलाई स्वास्थ्य सेवा गरेर काठमाडौं फर्किएपछि भएको छलफलमा रविसंग जोडिएको सहकारी विवाद र नेतृत्वको विषयमा चर्चा भएको हो । 

सहकारी विवादमा रवि मुछिएपछि यो प्रकरण थप चर्किंदै जाने र त्यसको मौकामा आफू सभापति बन्ने डा. स्वर्णिम वाग्लेको योजना हुन सक्ने भन्दै वाग्ले भए पनि रवि भए पनि रास्वपाको उही हविगत हुने सम्भावना भएकाले उपयुक्त नेतृत्व को हुन सक्ला भन्नेतिर समेत उनीहरूको छलफल चलिसकेको छ । रवि भावुक हुने र एक्लै चल्ने अनि अपारदर्शी भएका कारण सिंगै पार्टीलाई खतरा भइसकेकोबारे पनि भेटमा छलफल भएको छ । पार्टीप्रति क्रेज घटेको र अनलाइनमार्फत हुने सदस्यता करिब ठप्पजस्तो रहेको, भएका सदस्यहरू पनि परिचालन हुन नसकेको, रास्वपाको सदस्य रही अन्य पार्टीमा संगठित रहेको लगायत विषयमा पनि चिन्ता पोखिएको छ । 

रवि बदनाम हुने समय कुर्दै रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी प्रकरणमा रविलाई थप बदनाम हुने समय कुरिरहेको छ । पार्टीभित्र सहकारीका सवालमा बोल्नुप¥यो भन्ने आवाज उठे पनि रविको निजी मामिला भन्दै उनी यो केसमा उत्रन नसक्ने गरी बदनाम हुने अवस्थाको पर्खाइमा उच्च तहका नेता छन् ।

 

टिप्पणीहरू