सिकेबाट छुट्टिएका कैलाशको शक्ति प्रदर्शन, हिन्दीमा लेखिएको पम्पलेट व्यापक

सिकेबाट छुट्टिएका कैलाशको शक्ति प्रदर्शन, हिन्दीमा लेखिएको पम्पलेट व्यापक
सुन्नुहोस्

- सन्तोष बराइली

सिके राउत नेतृत्वको जनमत पार्टीबाट अलग्गिएका कैलाश महतोले आज सिरहाको लहानमा शक्ति प्रदर्शन गरेका छन् । स्वाधीन मधेश जनअभियानका नाममा उनले स्थानीय पशुपति माविको प्राङ्गणमा आमसभा आयोजना गरेर गरेका हुन् । 

मूलधारको राजनीतिमा आउनुअघि सिके राउतले सोही स्थानमा आमसभा र जनप्रदर्शन गरेका थिए । राजनीतिक मुद्दाभन्दा पनि अर्थको विषयमा विवाद हुँदा महतो राउतबाट अलग्गिएको स्थानीय पत्रकार आलोक यादवले बताए । उनका अनुसार महतो सिकेका प्रमुख संगठक थिए । 

आजको आमसभामा मोरङदेखि बारा–पर्सासम्मका नागरिकको सहभागिता रहेको बताइएको छ । स्वाधीन मधेश जनअभियानले पाँच बुँदे प्रमुख मुद्दा उठाएको छ । पूर्ण समानुपातिक निर्वाचन/आरक्षण/प्रतिनिधित्व प्रणाली, दल÷पार्टी विहीन स्थानीय निर्वाचन, राज्यको शासकीय पद्धती, युवालाई स्वदेशमा रोजगार र सडक तथा जमिनको मुआब्जा एवम् भूमिहीन तथा घरविहीन परिवारलाई दुई कोठे पक्की घरको माग गरिएको छ । कैलाश महतोको प्रमुख आतिथ्यमा आयोजित आमसभामा विशिष्ट अतिथिको रुपमा अधिवक्ता विकाश ठाकुर र सिएन थारू थिए ।

मधेशका शहिदहरुलाई श्रद्वाञ्जलीस्वरूप जनसभा आयोजना गरिएको बताइए पनि साहदतप्राप्त दिवसका दिन आयोजना गरिएको आजको आमसभालाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । सिके नेतृत्वको जनमत पार्टी हाल सत्ता गठबन्धनमा आवद्ध छ । आमसभास्थलमा वितरित हाते पम्पलेटमा मागहरु हिन्दी भाषामा लेखिएको छ ।

 

टिप्पणीहरू