हर्क साम्पाङको अर्को आदेश : नगरक्षेत्रमा मुखभित्र राखेर रस लिने पदार्थ नखानू

हर्क साम्पाङको अर्को आदेश : नगरक्षेत्रमा मुखभित्र राखेर रस लिने पदार्थ नखानू

धरानमा चुरोट, खैनीलगायत सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ । माघ २१ गतेदेखि लागू हुनेगरी धरान उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण तथा प्रयोगलाई पूर्णरुपमा निषेध गर्न लागेको हो । 

नगर प्रमुख हर्कराज साम्पाङले सूचना जारी गर्दै माघ २१ गतेदेखि धरानमा चुरोट, खैनी सेवन गर्न नपाइने प्रष्ट पारेका छन् । सूर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नुका साथै पर्यावरण प्रदूषण र सहरको सुन्दरतामा ह्रास आएको तथ्यलाई दृष्टिगत गरी यसको बिक्रीवितरण तथा भण्डारमा रोक लगाउने निर्णय भएको सूचनामा उल्लेख छ । 

गत पुस २९ गते बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको जानकारी दिदैं मेयर हर्कले अबको १५ दिनपछि धरान नगरक्षेत्रका सार्वजनिक स्थलमा चुरोट, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोग गर्न नपाइने जनाएका छन् । 

सूचनामा भनिएको छ, ‘धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरु (पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल) लगायतमा चुरोट, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाउने मिति २०८० पुस २९ गतेको कार्यपालिका बैठकबाट निर्णय भएकोले उल्लेखित सूर्तीजन्य वस्तुहरु यो सूचना प्रकाशित भएको मितिले १५ दिनपछि धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरुमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।’

कसैले सूचनाको अवज्ञा गरी यस्ता पदार्थ बिक्रीवितरण तथा भण्डार गरेको पाइएमा नगर प्रहरीमार्फत जफत गरी कानूनबमोजिम जरिवाना गरिने समेत उपमहानगरको चेतावनी छ । 

नगरपालिकाले सूर्तीजन्य पदार्थको बिक्रीवितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेपनि हालै नगर कार्यपालिकाको बैठकमा एकजना वडाध्यक्ष पान पराग मुखमा हालेर बोलिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

टिप्पणीहरू