पूर्वराजालाई भव्य स्वागत गर्न कमल थापाको निर्देशन

पूर्वराजालाई भव्य स्वागत गर्न कमल थापाको निर्देशन

भोलि मकवानपुरको हेटौंडा जान लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागतको तयारी गरेको छ ।

हेटौंडाका धार्मिकस्थलको अवलोकन तथा पूजा आरधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि जान लाग्नुभएका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । 

पार्टी जिल्ला समितिको हिजो बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँड गरेको छ । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न  निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,’ अध्यक्ष सापकोटाले भने ।

पूर्वराजालाई भोलि मध्यान्ह १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ । पूर्वराजा हेटौंडा–१३, पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि जाने कार्यक्रम छ । 

शाहको स्वागतमा मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार १११ जनाको मूल समारोह समिति पनि गठन गरिएको छ ।

टिप्पणीहरू