हिउँद लागेसङ्गै नेताहरुको दिल्ली आउजाउ बाक्लियो

हिउँद लागेसङ्गै नेताहरुको दिल्ली आउजाउ बाक्लियो
सुन्नुहोस्

नेपाली राजनीतिक दलका नेताहरुको नयाँ दिल्ली आउजाउलाई पछिल्लो समय त्यति धेरै अस्वाभाविक मान्न छाडिएको छ । कतिपय दलका नेताहरुलाई काठमाडौं–दिल्ली–काठमाडौं पानी पँधेरोसरह हुने गरेकै छ ।

राजनीतिक उतारचढाव बढेको बेला त्यस्तो प्रवृत्ति ह्वात्तै बढ्ने गरेको छ । गत मंसिरदेखि माघ पहिलो सातासम्म कतिपय नेता तथा मन्त्री सरकारी काम विशेष र स्वास्थ्य उपचारको निम्ति त्यता गए पनि केहीको आउजाउलाई भने राजनीतिक क्षेत्रले नोटिसमा लिएको पाइन्छ । 

यसबीच जनमत पार्टीमा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीप्राप्त पूर्व खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खान त्यता गएका छन् । उनी अस्ति शुक्रबार एयर ईण्डियाको उडानमा बिहान पौने १२ बजे काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

अब्दुल खान नयाँ दिल्ली उड्नुअघि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निवासमा भेटेको गाईंगुईं सुनिएको छ । डा. सिके राउतको पार्टी जनमतले आगामी बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनमा छुट्टै उम्मेदवारी दिएको छ । सो पार्टीले सत्ता गठबन्धनमा आवद्ध रहे पनि गठबन्धनका उम्मेदवारविरुद्ध मधेश र लुम्बिनी प्रदेशमा उम्मेदवार उठाएको छ । यही मेसोमा उपाध्यक्ष खानको नयाँ दिल्ली यात्रालाई संयोगको दृष्टिकोणले मात्रै हेरिएको छैन । 

यसअघि राजेन्द्र महतो र नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि नयाँ दिल्ली भ्रमण गरेका थिए । उनीहरु फर्केपछि खान उता जानुलाई बाघ कराउनु र बाख्रा हराउनुको हिसाबले मात्र हेर्न नहुने मधेशवादी दलहरुको बुझाई छ । महतो गत मंसिर ५ गते नयाँ दिल्ली गएर ९ गते एयर ईन्डियाको उडानमा फर्केका थिए । 

त्यस्तै नेपाली काँग्रेसका महामन्त्री थापा पुस २५ गते एअर इण्डियाको उडानमा नयाँ दिल्ली गएर गत बुधबार स्वदेश फर्केका छन् ।

टिप्पणीहरू