१५ वर्ष पुरानो घटनामा माओवादी नेतृविरुद्ध पक्राउ पूर्जी
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
व्यक्ति हत्याको आरोपमा जाहेरी परेपछि जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । १५ वर्षअघि कालिकोटका राजबहादुर मल्लको हत्या गरेको अभियोगमा सिंहलगायत ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ नामले चिनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
१७ वर्षीय मल्लको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या भएको थियो । सुर्खेतको जनमाविमा अध्ययनरत् उनको हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसको १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिँदा क्रान्तिकारीका अध्यक्ष सिंहसहित थप पाँच जनामाथि हत्यामा संलग्न रहेको आरोप लागेको थियो ।
टिप्पणीहरू